Division forest_Ads
Barista_Training

बढैयातालमा ९०.४०प्रतिशत विद्यार्थी फेल , सात विद्यालयको नतिजा शून्य

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय परीक्षामा ९०.४०प्रतिशत विद्यार्थी फेल भएका छन् । पालिकाले सञ्चालन गरेको कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालयका ९०.४० प्रतिशत ( सात सय २५ जना ) विद्यार्थीहरू फेल भएको हुन ।

परीक्षामा सामुदायिक विद्यालयका २१ तथा संस्थागत विद्यालय ५ गरी जम्मा २७ विद्यालयका विद्याथीले परीक्षा दिएका थिए  । चैत्र २ गतेदेखि चैत्र ९ गते सम्म भएको परीक्षामा सामुदायिक विद्यालयका आठ सय दुई जना र संस्थागत विद्यालयका एक सय ३६ जना गरी नौ सय ३८ जना विद्यार्थीहरूले परीक्षा दिएको थिए । तर सामुदायिक विद्यालयका ९०.४० प्रतिशत ( सात सय २५ जना ) फेल र ९. ६० प्रतिशत ( ७७ ) जना विद्यार्थी पास भएका छन् । भने संस्थागत विद्यालयका विद्यालयका ३०. १५ प्रतिशत ( ४१ ) जना विद्यार्थी फेल र ६९. ८५ प्रतिशत ( ९५ ) पास भएका छन् ।

बढैयाताल गाउँपालिका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले  पहिलो पटक सञ्चालन भएको कक्षा ८ को नतिजा कम आउनुमा सामुदायिक विद्यालयमा योग्यता अनुसार प्रधानाध्यापक व्यवस्था नहुनु, दरबन्दी अनुसार शिक्षक मिलानको काम अगाडि बढ्न नसक्नु, पालिकाले शिक्षा क्षेत्रमा कम लगानी गर्नु, शिक्षकको क्षमता विकासको तालिम सञ्चालन नहुनु, विद्यालयहरूको नतिजा विश्लेषण गरी सुधारमा  काम अगाडि नबढाउनु नतिजा कम आउनु कारण भएको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति अभिभावक र विद्यालयले पनि विद्यालय सुधारको लागि काम गर्न नसक्नु, विद्यालयहरू बिग स्कुलको मोडलमा नलैजाने, वरिपरिका स्कुल विद्यालयहरू मर्ज गर्न नसक्नु, विद्यालयमा आर्थिक स्रोतको अभावमा अतिरिक्त क्रियाकलाप हुन नसक्नु र पालिकाको शैक्षिक गुरुयोजना नभएकोले नतिजा कम आएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ एकअर्कालाई दोषारोपण गर्नु भन्दा पनि सबै जिम्मेवार हुन जरुरी छ । यो परिणाम आउनुमा सबै दोषी नै छौ , अब गाउँ शिक्षा समिति, विद्यालयका सरोकारवालाहरू बसेर शैक्षिक योजना निर्माण गरि अगाडि बढ्ने प्रतिवद्धता गर्न जरुरी छ । बाटाघाटामा होइन, शिक्षा स्वास्थ्य, क्षेत्रमा लगानी बढाउन आवश्यक छ । ’

सात वटा विद्यालयको नतिजा शून्य

पालिकामा रहेको सात वटा विद्यालयको नतिजा शून्य आएको छ । ६ वटा सामुदायिक विद्यालय र एक वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो ।

नतिजा शून्य आउने विद्यालयहरू श्री जगदम्बिका माध्यामिक विद्यालय शान्तिपुर जमुनी, श्री सरस्वती आधारभूत विद्यालय सोरहवा, श्री युवक आधारभूत विद्यालय बकोटिया, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, श्री मयूर आधारभूत विद्यालय मयूरबस्ती, श्री प्रगति आधारभूत विद्यालय, मैनापोखर, मुनलाईट ऐकेडेमी रहेका छन् । भने अन्य विद्यालयको नतिजा पनि खासै सन्तोषजनक रहेको पाइदैन् ।

शिक्षक नेताहरूको विद्यालयको नतिजा नै कम

Basgadhi PSA_final

शिक्षक नेताहरूले नेतृत्व गरेको विद्यालयको नतिजा नै कम भएको पाइएको छ । पेशागत संगठनको पदाधिकारीको जिम्मेवारी रहेर प्रधानाध्यापक समेत रहनु भएको शिक्षक नेताहरू विद्यालयको नतिजा नै कम पाइएको हो ।

शिक्षक महासंघ , नेपाल शिक्षक संघ, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन , नेपाल राष्ट्रिय शिक्षक संगठन, र शिक्षा समिति सदस्यको जिम्मेवारी रहनु भएका शिक्षक नेताहरूले नेतृत्व गरेको विद्यालयको नतिजा कम नै कम छ । बढैयाताल गाउँपालिका शिक्षक महासंघ अध्यक्ष, शिक्षा समिति सदस्य एवम् श्री युवक आधारभूत विद्यालय बकोटिया प्रधानाध्यापक राजेश्वर थापाले परीक्षामा थुपै कमीकमजोरी भएकोले विद्यालयले आस गरेको विद्यार्थीहरूबाट समेत राम्रो रिजल्ट आउन नसकेको बताउनु भयो । उहाँले विद्यार्थीहरू आफू पढेको भन्दा फरक विद्यालयमा परीक्षा दिन जाँदा विद्यार्थीहरूको मनमा डर त्रास विद्यार्थीहरू भएकोले पनि विद्यार्थीहरू हतोत्साहित भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘परीक्षामा विद्यार्थीहरूले राम्रोसँग परीक्षा दिएको बताए पनि परीक्षाको नतिजा सोचे अनुसार नआउँदा विद्यार्थीहरू पनि अन्यौलमा परेका छन् । परीक्षाको उत्तरपुस्तिका कसरी जाँच भयो त्यसले पनि रिजल्टमा असर पारेको हुन सक्छ । ’

बढैयाताल गाउँपालिका परीक्षा समिति संयोजक विमला कुमारी गुरुङले परीक्षा सञ्चालनका लागि विषय विशेषज्ञहरूको सहभागी प्रश्नपत्र निर्माण गरिएको बताउनु भयो । उहाँले पाठ्यक्रम परिवर्तन भएकोले हरेक शिक्षकलाई अभिमुखीकरण गरिनुका साथै त्यहीँ सीमाभित्र रहेर प्रश्नपत्र बनाउनु पर्छ कार्यशाला गरिएको जानकारी दिनुभयो ।परीक्षा समिति संयोजक गुरुङले भन्नुभयो, ‘जहाँसम्म प्रश्नहरू निर्माणको विषय छ त्यो विषयगत शिक्षकले बनाउनु भएकोले उहाँहरूको विषयगत दखलता विज्ञताकै आधारमा नै प्रश्न निर्माण भएको छ ।’

प्रधानाध्यापक , शिक्षक र कर्मचारीले बुझाए पालिका अध्यक्षलाई ज्ञापन पत्र

प्रधानाध्यापक, शिक्षक कर्मचारीहरूले संयुक्त रुपमा पालिका अध्यक्षलाई माग पत्र बुझाएको छन् । पालिकाले प्रकाशन गरेको कक्षा ८ को नतिजामा असहमति जनाउदै प्रधानाध्यापक, शिक्षक र कर्मचारीले संयुक्त रुपमा माग पत्र बुझाएका हुन ।
पालिका रहेको आधारभूत तह उर्तिण परीक्षा समितिको गठन संघीय शिक्षा ऐन २०२८ र तथा स्थानीय शिक्षा ऐन २०७९ अनुसार भए नभएको प्रष्ट पारिदिनु पर्ने पालिकासँग माग गरेको छन् । त्यसैगरी परीक्षार्थीहरूले परीक्षाको नतिजा चित्त नबुझेमा उत्तरपुस्तिका अवलोकन गर्न पाउने चाहेमा सो उत्तरपुस्तिका हेर्न पाउने पर्ने माग गरेका छन् । पालिकाले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई सन्तोषजनक रुपमा समाधान नगरे भर्ना अभियान कार्यक्रम सञ्चालन नगर्ने निर्णय प्रधानाध्यापक, शिक्षक र कर्मचारीको बैठकले निर्णय गरेको छ ।

पालिका स्तरीय कक्षा ८ को परीक्षाको उत्तरपुस्तिकाको सम्परीक्षण गरिनुपर्ने माग सहित पालिका अध्यक्षलाई माग पत्र बुझाएको बढैयाताल गाउँपालिका शिक्षक महासघंका अध्यक्ष एवम् श्री युवक आधारभूत विद्यालय बकोटिया प्रधानाध्यापक राजेश्वर थापा जानकारी दिनुभयो ।

अध्यक्ष भन्नुहुन्छ शिक्षामा सुधार हुन्छ

बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले पालिकामा पहिलो पटक पालिका स्तरीय कक्षा ८ को परीक्षा सञ्चालन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ यस भन्दा पहिला विद्यालयले कक्षा ८ को परीक्षा सञ्चालन गर्दै आएको थिए । पालिकाको शिक्षाको अवस्था थाहा पाउन पनि पालिकाले कक्षा ८ को परीक्षा लिएको हो । पालिकाले जस्ताको त्यस्तै कुनै छलकपट नगरी बालबालिकाले भविष्यमा माथि खेलवाड नहुने गरी जे जस्तो रिजल्ट आउँछ, त्यहीँ अनुसार रिजल्ट निकाले हो । ’ पालिकाको शिक्षामा भएको अस्तव्यस्त वेतिथीलाई गर्न आवश्यक रहेको सुधार कक्षा ८ को नतिजाले देखाएको छ । पालिका अब शिक्षामा सुधार गर्ने योजनाका साथ अगाडि बढ्छ । ’ उहाँले विद्यालयको नतिजा हेर्दा जहाँ पर्याप्त भौतिक संरचना छ, दरबन्दी अनुसारको शिक्षक छ , त्यस्ता विद्यालयको परीक्षाको नतिजा शून्य आएको छ भने अन्य विद्यालयको नतिजा पनि सन्तोषजनक नभएको बताउनु भयो ।

पालिका अध्यक्ष त्रिपाठीले भन्नुभयो, ‘विद्यालयहरूको परीक्षाको नतिजा मूल्यांकन तथा समीक्षा गरी शिक्षामा देखिएको कमीकमजोरी हटाउने जाने र गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी पालिकाले योजना बनाएर अगाडि बढ्दै जान्छ ।’ शिक्षामा सुधार गर्न ३ वर्षे आवधिक योजना, पाँच वर्षे आवधिक योजना र १० वर्षे योजना बनाएर पालिकालाई शिक्षाको हबको रुपमा विकास गरेर अगाडि बढ्ने योजना रहेको पालिका अध्यक्ष त्रिपाठीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.