प्रकाश पौडेल, गुलरिया । बर्दियामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्ड बर्दियाले ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमा पहुँच भन्दा बाहिर रहेको जनाएको हो ।
गुलरिया नगरपालिका – ७ की महिला स्वास्थ्य स्वयंसेविका मञ्जु यादवले पहिला स्वास्थ्य बिमा गरेपनि आर्थिक अभावले गर्दा बिमाको नवीकरण गर्न नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, स्वास्थ्य स्वयंसेविकाले पाउने सेवा सुविधा कम छ जसले गर्दा आर्थिक रुपमा समस्या हुन्छ, नवीकरण गर्ने समयमा आर्थिक समस्या भएकोले नवीकरण नसकेको हो । ’
महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रमा खम्बा हुन । नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर कम हुनुमा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको छ । नेपालमा शहरी, तथा ग्रामीण गाउँमा गएर स्वास्थ्यको बारेमा प्रचार प्रसार गर्ने र सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन स्वास्थ्य सेविकाहरुको महत्वपूर्ण योगदान रहेको छ । तर तीनै महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर रहनु परेको छ ।
त्यसैगरी मधुवन नगरपालिका –६ की महिला स्वास्थ्य स्वयंसेविका सुशीला गिरीले आर्थिक रुपमा समस्या भएर स्वास्थ्य बिमा नगरेको बताउनु भयो । उहाँले भन्नुभयो , ‘स्वयंसेविका भएर प्राप्त गरेको सेवा सुविधाले नपुग्ने भएकोले स्वास्थ्य बिमा नगर्न नसकेको हो । केन्द्र तथा प्रदेश सरकार वा स्थानीय तहले स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउनु पर्छ । स्वयंसेविका भएर घरखर्च चलाउन गाह्रो छ , कसरी बिमा गर्नु त्यहीँ भएर सरकारले नै स्वास्थ्य स्वयंसेविकाको बिमा गराई दिनुपर्छ । ’
स्वास्थ्य बिमा बोर्डले महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई स्वास्थ्य गर्दा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिदै आएको स्वास्थ्य बिमा बोर्डका बर्दियाका जिल्ला संयोजक रूपेश आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ स्वयंसेविकाले छुट प्राप्त गर्नका लागि सरकारले उपलब्ध गराएको परिचय पत्र दर्ता सहयोगीलाई उपलब्ध गराउनु हुन्छ । र स्वयंसेविकालाई स्वास्थ्य संस्थामा उपचार गर्दा सहभुक्तानी पनि लाग्दैन । ’
बर्दिया रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बिमाको पहुँचसम्म ल्याउन जरुरी रहेको स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले बताउनु भयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाले प्राप्त गर्ने सेवा सुविधा स्थानीय तहले दिने भएकोले स्थानीय तहमा रहेका स्वास्थ्य शाखासँग छलफल गरी महिला स्वास्थ्य सेविकालाई स्वास्थ्य बिमाको पहुँच ल्याउन पहल गर्ने जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय बर्दियाको अनुसार बर्दिया आठ सय ३७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । जसमध्ये ३५.७२ प्रतिशत ( दुई सय ९९ जना स्वास्थ्य बिमाको पहुँचमा रहेका छन् । भने ६४.२८ प्रतिशत ( पाँच सय ३८ ) स्वास्थ्य बिमा पहुँच भन्दा बाहिर रहेका छन् ।