यज्ञप्रसाद सापकोटाबर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको बताउँदै जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टि भएको बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बर्दियाको १० औं अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो । २०७९ सालको चुनावमा पनि जनताले रोजेको पहिलो पार्टी एमाले थियो । उहाँले भन्नु भयो –‘ संसद्मा नेपाल काँग्रेस पहिलो भयो, जनताले एमाले रोज्ने चुनावको परिणाम कांग्रेसको पक्षमा देखिने यो कस्तो लोकतन्त्र हो ?’ आफूले रोजेको पार्टीले सरकार चलाउन नपाएपछि जनता निराश भएको बताउँदै अब एमालेले सरकारमा कुर्सीको भागबन्डामा भन्दा पनि २०८४ को चुनाव कसरी जनताको पक्षमा ल्याउन सकिन्छ भन्ने तर्फ ध्यान दिने बताउनु भयो । आउने चुनाव पछि नेकपा एमाले आफ्नै एकल बहुमतको सरकार बनाउने सामार्थ्य पुग्नु पर्दछ।
उहाँले नेकपा एमाले जनताको आशा र भरोसाको केन्द्रबिन्दु भएको दावी गर्नु भयो । उहाँले पछिल्लो समयमा जातीय राजनीति र नयाँ दलको नाममा एमालेलाई थोरै समस्या भएको बताउँदै उनीहरूको राजनीति सकिएको दावी गर्नुभयो । उहाँले भन्नु भयो –‘जातीय नाममा रेशम चौधरीले गरेको राजनीतिको अब सकियो । त्यसको उदाहरण पछिल्लो उपनिर्वाचन हो, जनताले पहिचान वादी र जातीय राजनीति रुचाउन छोडे ।’
लुम्बीनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनु भएका महासचिव पोखरेलले अधिवेशनमा शुभकामना मन्तव्य दिनुहुँदै १० औ अधिवेशनले बर्दियामा एमालेको पुरानो विरासत फर्काउने गरी सबै पार्टी सदस्यलाई लाग्न निर्देशन दिनुभयो ।
नेकपा एमाले बर्दियाको १० औँ जिल्ला अधिवेशन उद्घाटनमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री नेकपा एमालेका केन्द्रिय सदस्य एवं बर्दिया इन्चार्ज लिला गिरी, केन्द्रिय सदस्यहरू, प्रदेश सदस्यहरू लगाएत विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनको बन्दसत्र आज (मंगलबारं) साँझ ८ बजेदेखि सुरु हुने छ । तिन सय ६४ जना प्रतिनिधि रहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ । बन्दसत्रले पदाधिकारी सहित एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने छ ।