Krishnasar_Dubble Ad
Barista_Training

मेरो मानसपटलमा मदन भण्डारी 

Geruwa GIF

राजेन्द्रप्रसाद धिताल । त्यतिबेला म स्नातक तहको विद्यार्थी थिए ।२०५० साल जेठ ३ गते साँझतिर हामी नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको छात्रावास परिसरमा थियौं ।एकाएक रेडियो नेपालले नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आशृत सवार जिप दासढुङ्गामा दुर्घटनाग्रस्त भएको खबर सम्प्रेषण गर्‍यो ।उक्त समाचारले मुलुकलाई स्तब्ध बनायो  ।

म पनि यो घटनाले व्याकुल भएको थिए ।मदनकुमार भण्डारी मुलुकले आशा गरेका एक उदीयमान नेता थिए ।राजनैतिक रूपमा उनले अङ्गीकार गरेको वामपन्थी विचार र कम्युनिस्ट आन्दोलनमा उनले प्रतिपादन गरेको बहुदलीय जनवादको कार्यनीतिहरू मेरो कुनै लगाव थिएन ।म नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाल विद्यार्थी संघ मार्फत सहभागी भएको थिए ।

त्यतिबेला नेपालको लोकतान्त्रिक आन्दोलन घृणाको जगमा उभिएको थियो। नेपाली राजनीतिमा घृणा, आवेग र उत्तेजना व्याप्त थियो। विशेष गरेर काँग्रेस र कम्युनिस्टहरू एक अर्का विरुद्ध घृणा रोप्थे र दुश्मनी पूर्ण व्यवहार गर्थे । नेताहरु नै राजनैतिक  र दार्शनिक रूपमा एकअर्कालाई दुश्मनका रूपमा परिभाषित गर्थे र विष वमन गर्थे ,जसको प्रत्यक्ष असर युवा विद्यार्थीहरूमाझ परेको थियो। मदनकुमार भण्डारीको दुःखद निधन  पनि एमाले पार्टीका लागि राजनीति गर्ने उपयुक्त माध्यम बन्यो ।

भोलिपल्टबाटै मदन भण्डारीको निधनलाई हत्या करार गरेर एमालेले देशव्यापी उग्र आन्दोलनको घोषणा गर्‍यो र देशले ठूलो जनधनको क्षति ब्यहोर्नु पर्‍यो ।तर मुलुकको ठूलो विडम्बना !मदन भण्डारीको रहस्यमय निधनको विषय सबैको लागि र सदाका लागि ओझेलमा पर्‍यो ।
कम्युनिस्ट आन्दोलनप्रति लगाव नभए तापनि मेरो हृदयमा कम्युनिष्टप्रति घृणाको भाव थिएन ।

Basgadhi PSA_final

मेरो पिताजी आध्यात्मिक भावनाले ओतप्रोत मानवतावादी  सोच राख्ने व्यक्ति हुनुहुन्थ्यो ।उहाँले अध्ययनका क्रममा भारत  प्रवासमा रहँदा त्यहाँ हुने काङ्ग्रेस ,कम्युनिस्टका गतिविधिहरूलाई नजिकबाट नियाल्नु भएको थियो ।  मूलतः उहाँ घृणा विरोधी हुनुहुन्थ्यो । म उहाँको विचारबाट प्रेरित थिए ,यसैले मैले कम्युनिस्टहरूलाई कहिल्यै घृणा गरिन ।अर्को कुरा हाम्रो धिताल परिवारमा मभन्दा अघिल्लो पुस्ताका दाइहरू कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँहरूले कम्युनिस्टहरू गरीवका मुक्तिदाता हुन् भन्ने कुरामा मलाई सहमत गराउनु भएको थियो ।

आदरणीय पूर्ण धिताल ,देवराज धिताल दाइहरू ,गौरीकान्त आचार्य फुपाजु आदि वैचारिक रूपमा परिपक्व कम्युनिस्ट हुनुहुन्थ्यो ।एकदिन हाम्रो पाताभार स्थित घरमा मेरा अग्रजसँग वैचारिक रुपमा म पराजित भए ।म करैले भए पनि कम्युनिस्ट बन्न तयार भएको थिए तर कान्छाबुबा आदिचन्द्र धितालले बीचैमा हस्तक्षेप गरेर मलाई कम्युनिस्ट हुनबाट रोक्नुभएको थियो ।हाम्रो घरमा यस्ता अन्तरसम्वाद निरन्तर भइरहन्थे, त्यसैले पनि म कम्युनिष्टप्रति सहिष्णु थिए।

मदनकुमार भण्डारीप्रति मेरो विशेष अनुराग थियो। हामी सानै हुँदा पठनपाठनको सन्दर्भ आउँदा मेरो पिताजी जहिल्यै पनि मदन भण्डारीको उदाहरण दिनुहुथ्यो। पिताजीले बताए अनुसार भारतमा अध्ययन गर्दा वृन्दावन स्थित छात्रावासमा मदन भण्डारी  र उहाँहरु सँगै बस्नु हुन्थ्यो ।मदन भण्डारीको पढ्ने तरिका अनौठो थियो। रातभरि सबै विद्यार्थीहरू पढ्ने  ,मदन भण्डारी भने सुतेर साथीहरूले पढेको सुन्ने ,कक्षामा गुरुले प्रश्न गर्दा जहिल्यै पढेको पाठ भन्दा अघिल्लो पाठको समेत जवाफ दिन सक्ने ,हकी ,सहयोगी  र निर्भीक व्यक्तित्व थियो मदन भण्डारीको २०४५  सालमा एसएलसी परीक्षा दिन जुम्ला गए ।

जुम्लास्थित हाम्रो घरमा मैले बनारसबाट प्रकाशित एउटा साहित्यिक पत्रिका भेटाको थिए ,त्यसमा मेरा पिताजी र मदन भण्डारी लगायतका स्रष्‍टाहरूको रचनाहरू प्रकाशित थिए। मेरा पिताजीको कर्णालीको लहर शीर्षकको कविता म अहिले पनि सम्झन्छु। मेरो दुर्भाग्य मैले त्यतिबेला त्यो पत्रिकाको महत्त्व बुझ्न सकिन ।हाम्रो जुम्लाको घर भत्किएसँगै त्यो दुर्लभ साहित्यिक सामाग्री हराएर गयो। त्यसले पनि मदन भण्डारीप्रति मेरो मनमा हार्दिकता र सम्मान त्यतिबेलासम्म मदन भण्डारी नेताको रूपमा प्रसिद्ध हुनुभएको थिएन ।

२०४६ को परिवर्तनपछि नेपाली राजनीतिमा उहाँको उचाइ चुलिँदै गयो। २०४८ को आम निर्वाचनमा उहाँले नेपाली राजनीतिका  सन्त नेता तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नुभयो ।जनताको बहुदलीय जनवादको कार्यनीति ल्याएर विश्व कम्युनिस्ट आन्दोलनमा नवीन दृष्टिकोण भित्र्याउनु भयो। यसले उहाँलाई विश्व राजनैतिक रङ्गमञ्चमा एक प्रतिभाशाली राजनीतिज्ञ तथा विचारका रुपमा स्थापित गर्यो ।उहाँ राजनैतिक रूपमा चर्चाको शिखरमा रहँदा मेरो पिताजी स्वभाविक मान्नु हुन्थ्यो र उहाँको असल शुभेच्छुक हुनुहुन्थ्यो ।संयोग जुरेमा मदन भण्डारीलाई भेट्ने र विद्यार्थी जीवनका सुन्दर क्षणहरू स्मरण गर्ने उहाँको रहर थियो ।मदन भण्डारीको दुःखद देहावसानले मेरो पिताजी द्रवित हुनुभएको थियो। रुनु भएको थियो ।मैले पनि गहिरो पीडा बोध गरेको थिए।

आजको दिन राष्ट्र दुखेको थियो।मुलुकले एक वैचारिक राजनेता गुमाएको थियो ।श्रद्धेय राजनेताप्रति भाव पूर्ण श्रद्धाञ्जली ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page