कृष्णसार अनलाइन, मधुवन । उज्यालो नेपालले ११ लाख रुपैयाँ सहयोग गरेको छ । मधुवन नगरपालिका रहेको १७ वटा समुहलाई ११ लाख रुपैयाँ सहयोग गरेको हो ।
उज्यालो नेपालले मानव हात्ती सहअस्तित्वका लागि हात्ती मेरो साथी कार्यक्रम अन्तर्गत मध्यवर्ती क्षेत्रसँग जोडिएको गाउँ तथा मधुवन नगरपालिकाको ५ वटा वडामा कार्यक्रम गर्दै आएको छ ।
मधुवन नगरपालिका नगरप्रमुख तेजबहादुर भाटले मानव र वन्यजन्तु बीच हुने द्वन्द्व न्यूनिकरणका कार्यक्रम सञ्चालन गर्दा मानिसलाई प्राथमिकतामा राखेर योजना बनाउनु पर्ने बताउनु भयो । उहाँले जंगली जनावरका कारण मानिसको मृत्यु हुने देखि धनजनको क्षति बढी हुने गरेको छ, यसलाई प्राथमिकतामा राखेर काम गर्न जरुरी रहेको धारण व्यक्त गर्नु भयो ।
बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले जंगली जनावरको आनिबानी थाहा नहुदाँ पनि मानव र वन्यजन्तुको बीचमा द्वन्द्व हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ जंगली जनावरले आफ्नो व्यवहार परिवर्तन गर्न सक्दैन । त्यसकारण मानिस चेतनशील प्राणी भएकोले मानिसले व्यवहार परिवर्तन गर्ने मानव वन्यजन्तु बीचमा हुने द्वन्द्व कम हुन्छ । ’उहाँले उज्यालो नेपालले गरेको सहयोगले आर्यआर्जनका काम गर्दा सहयोग पुग्ने बताउनु भयो ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले मानव र वन्यजन्तु बीचमा हुने द्वन्द्व न्यूनिकरण गर्नका लागि कार्यालयले पनि विभिन्न काम गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मधुवन नगरपालिका सबैभन्दा बढी जंगली जनावरबाट प्रभावित क्षेत्र हो । यहाँ रहेको सामुदायिक वनमा जंगली जनावर प्रवेश गरेको थाहा पाउने बितीकै वन कार्यालयले निकुञ्जसँग सहकार्य गरेर जनावरलाई नियन्त्रण प्रयास गर्दै आएको छ । ’
वनमा जाँदा एक्लाएक्लै नजाने, समुहमा जाने, वनमा जादा विशेष दिन सके पनि मानव वन्यजन्तु बीच हुने द्वन्द्व न्यूनिकरण हुने प्रमुख बिडारीले बताउनु भयो । उहाँले समुदायक वनसँग जोडिएको खेतबारीमा जंगली जनावरले नखाने बालीनाली रोप्न जरुरी रहेको बताउनु भयो ।
उज्यालो नेपालका सल्लाहकार रमेशकुमार थापाले मधुवन नगरपालिका ५ वटा वडामा रहेका १७ वटा समूहको आर्थिक आर्यआर्जन वृद्धि गर्नमा लागि उज्यालो नेपाल ११ लाख रुपैयाँको सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सहयोग रकम समूहले ऋण रुपमा लगानी गर्ने, तथा अन्य सोतको व्यवस्थापन गरी रकमलाई क्रमशः वृद्धि गर्दै जाने गरी काम गरिएको छ । ’
जंगली जनावर प्रभावितहरू बिमा कार्यक्रम घर बिमा लगायतका कार्यक्रम पनि उज्यालो नेपालले गर्दै आएको सल्लाहकार थापाले बताउनु भयो । उहाँले जंगली जनावरका हुने बाली र पशुपक्षी बिमा बर्दियाबाट पाइलट प्रोजेक्टको रुपमा सुरुवात गर्ने तयारी रहेको बताउनु भयो ।
शुक्रबार भएको कार्यक्रममा मधुवन नगरपालिका –१,२,३,४ र ५ वडामा रहेका १७ वटा समूहलाई ११ लाख नगद सहित एउटा समुहको लागि तीन वटा टर्च लाइट तथा खाता करिडोरमा रहेका शसस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई एक – एक लाइट वितरण गर्न गरिएको हो ।