जाेधिराम थारु, गुलरिया । बर्दियाको बारबर्दियामा रहेको विद्यालयहरूमा विद्यार्थीहरूले दुनाटपरी र पंखा बनाउने सीप सिक्न थालेका छन् । स्थानीय स्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरेर विद्यार्थीहरूले दुनाटपरी र पंखा बनाउने सीप सिक्न थालेका हुन ।
धार्मिक कार्य तथा पितृकार्यमा प्रयोग हुदै आएको दुनाटपरी पछिल्लो दिनहरूमा हराउँदै गएको छ । हाते बासबाट बन्ने हाते पङ्खाको स्थानमा प्लास्टिकको पङ्खाले प्रयोग हुन थालेको छ । भने परम्परागत सीप पुस्तान्तरण हुन सकेको छैन् । बारबर्दिया नगरपालिकाका विद्यालयमा विद्यार्थीहरूले शुक्रबारको अतिरिक्त क्रियाकलापमा नजिकैको बनबाट खेर गएका सालका पात ल्याएर दुनाटपरी बनाउने तथा बासको प्रयोग गरेर पंखा बनाउन सुरु गरेका छन् । बिस्तारै प्रचलनबाट हराउन लागेको ज्ञान सीप सिकाउने कामको थालिएको छ ।
बारबर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकानाथ गोसाइँले ज्ञान कक्षाकोठा भित्र र बाहिर दुबै ठाउँमा प्राप्त गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ स्थानीय स्तरमा पाइने स्रोतसाधनको प्रयोग गर्न नजादाँ पनि देशबाट पलायन हुने दर बढी रहेको छ । त्यसलाई रोक्न पनि सानो कक्षाबाट नै बालबालिकालाई स्थानीय ज्ञान र सीप हस्तातरण गर्न शैक्षिक क्यालेन्डरका व्यवस्था गरे अनुसारको सीप सिकाइएको हो । विद्यालयमा गएर दुना टपरी तथा पंखा बनाउन जान्ने स्थानीयले जानेको सीप सिकाउनु हुन्छ । ’
विद्यार्थीहरूलाई सँगै राखेर सीप सिकाउने काम पालिकामा पहिलो पटक भएको शिक्षा शाखा प्रमुख गोसाइँले बताउनु भयो । विद्यार्थीहरुले विद्यालयमा भएको दुना टपरी बनाउने , पंखा बनाउने काममा विद्यार्थीहरू अत्यन्त उत्सुक देखिएका छन् ।
विद्यार्थीहरूले आफूहरूले गाँसेको दुना टपरी गाउँमा लगेर बेच्ने योजना बनाएका छन् । भने पछिल्लो समयमा प्रयोग हुँदै आएको फाइबर र प्लाष्टिकका थाल र प्लेटहरू विस्थापित गर्ने योजना छ ।
परम्परागत ज्ञान सीप पनि सिकाउने र विद्यार्थीहरूले उत्पादन गरेका सामानहरू संकलन गरेर बिक्री वितरण गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढकालले बताउनुभयो । “कतिपय विद्यार्थीहरूले परम्परागत सीप नै बिर्सिसकेका छन् ।”, उहाँले भन्नुभयो, “छात्राहरूलाई दुना टपरी बनाउन सिकाउने, छात्रहरूलाई बाबियोको रसी दाम्लो बाँसका सामान बनाउन सिकाउने विद्यालयको योजना छ ।”
उहाँले विद्यार्थीले सीप सिकेपछि भएको उत्पादनलाई बिक्री गरी हुने आम्दानी विद्यार्थीका लागि खर्च गर्ने योजना रहेको बताउनुभयो । आगामी दिनमा अरू परम्परागत सीप र क्षमता अभिवृद्धिका लागि नयाँ नयाँ क्रियाकलाप गर्ने योजना रहेको जानकारी दिनुभयो ।
हरेक विद्यालयलाई परम्परागत ज्ञान सीपको संरक्षण र सम्बन्धन गर्नका लागि बारबर्दियाले रचनात्मक शुक्रबारको अवधारण ल्याएको हो । श्री जनता माध्यमिक विद्यालय रम्भापुर दुना टपरी, श्री पाञ्चजन्य माध्यामिक विद्यालयमा पदनाहा, युवक माध्यामिक विद्यालय जोगीगाउँ सिंम्हा माध्यामिक विद्यालय बेलभार र नेपाल प्राज्ञिक आधारभूत विद्यालयमा बासको हाते पंखा तथा नवज्योति आधारभूत विद्यालय शक्तिनगरका परम्परागत रुपमा प्रयोग हुदैँ आएको माटोको भाडा बनाउन सिकाइएको छ ।