Krishnasar_Dubble Ad
Barista_Training

नगर प्रमुख द्वारा विद्यालयमा पहुँचयुक्त वास संरचनाको शिलान्यास 

Geruwa GIF


बर्दिया । बर्दियाको ध्रुव माध्यमिक विद्यालय तुल्सिपुरमा पहुँचयुक्त खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा अन्तर्गत पहुँचयुक्त शौचालयको निर्माण कार्य सुरु भएको छ । वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसीसी), राष्ट्रिय अपांग महासंघ नेपाल (एनएफडीएन) को प्राविधिक सहयोगमा बेस संस्था द्वारा संचालित वास गेन्स परियोजना अन्तर्गत पहुँचयुक्त शौचालयको शिलान्यास गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले गर्नु भएको हो । उक्त शौचालयमा छात्राको लागि ५ कोठा, अपांगता भएका बालबालिकाहरूका लागि १ कोठा र छात्रहरूको लागि यूरिनल सहितको ३ कोठा रह्नेछ । 


४१ लाख  ५२ हजार लागतमा पहुँच युक्त शौचालय, सेप्टिक टंकी, सोकपिट, ८ धारा सहितको ह्याण्डवास स्टेसन, ८ धारा सहितका खानेपानी स्टेसन, फोहोर व्यवस्थापन खाडल, ट्युबेल प्लाटफर्म लगायतका संरचनाहरूको नयाँ निर्माण हुने  साथै विद्यालयमा रहेका पुराना खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी सुविधाको मर्मत कार्य पनि गरिने योजना भएको जानकारी वास गेन्स परियोजनाका प्राविधिक अधिकृत बसन्त यादवले दिनु भएको छ । 

Basgadhi PSA_final

    पहुँचयुक्त शौचालय निर्माणका लागि गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले शिलान्यास गर्दै उहाँले वास गेन्स परियोजना मार्फत गुलरिया नगरपालिकाका १० ओटा माध्यमिक विद्यालयहरूमा पहुँचयुक्त खानेपानी सरसफाइ तथा स्वच्छता संरचनाहरु निर्माण र मर्मत कार्य निक्कै उपलब्धि मूलक भएको बताउनु भयो । निर्माण भएका संरचनाको मर्मत सम्भार र सञ्चालन गर्ने जिम्मेवारी विद्यालय र नगरपालिकाले लिने बताउनु भयो । विद्यालयलाई नगरपालिका र सङ्घसंस्थाले सहयोग गरिरहेको बताउँदै शैक्षिक गुणस्तर वृद्धिको लागि सबै लाग्नु पर्ने बताउनु भयो । गुलरिया नगरपालिकाकै उत्कृष्ट विद्यालय बनाउनका लागि विद्यालय परिवार लाग्नका लागि निर्देशन दिँदै नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउनु भयो । 


विद्यालयलाई तिन तारा बनाउने गरी बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र छात्रा मैत्री शौचालयको निर्माण गरिने भएको छ । नेपाल सरकारको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुरूप स्तरीय संरचना निर्माण गरी  तिन तारे विद्यालय बनाउने उद्देश्यले निर्माण प्रक्रिया अगाडि बढाइएको बेस बर्दियाका अध्यक्ष विष्णु चौधरीले बताउनु भयो । हाल गुलरिया नगरपालिकाले आफ्नै विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि अनुमोदन गरिसकेको छ र सोही कार्यविधि अनुसार पालिकाले विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रमहरू संचालन गर्दै जानु पर्ने बारे वाटरएड नेपालका प्राविधिक अधिकृत रविन्द्र गोदारले जोड दिनु भयो ।
बर्दिया जिल्लाका ३३ ओटा विद्यालयमा वास गेन्स परियोजना सञ्चालन भइरहेको छ । परियोजनाले सुरुको पहिलो बर्ष १५ वटा विद्यालयमा पहुँचयुक्त शौचालय, खानेपानी धारा, हात धुने धारा लगायतका खानेपानी सरसफाइ र स्वच्छता सँग सम्बन्धीत संरचना निर्माण तथा मर्मत सम्भार गरेको थियो । परियोजनाको पहिलो वर्षमा करिब २ करोड ७९ लाख ७९ हजार लागतमा निर्माण तथा मर्मत सम्भार गरिएको थियो भने यस वर्ष परियोजना सञ्चालन भएका बाँकी १८ ओटा विद्यालयहरूमा खानेपानी सरसफाइ र स्वच्छताका पहुँचयुक्त संरचना निर्माण सुरुवात गरिएको हो । वास गेन्स परियोजनाका परियोजना संयोजक जगदिश प्रसाद चौधरीको अनुसार गत वर्ष निर्माण भएका संरचनाहरू हाल सञ्चालनमा आइसकेको र यस वर्ष निर्माण कार्यको सुरुवात संगै अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई व्यवहार परिवर्तनको लागि सचेतना मूलक कार्यक्रम समेत सञ्चालन गरिरहेको जानकारी गराउनु भयो । 

वास गेन्स परियाेजनाले श्री नेपाल राष्ट्रिय शम्भुशरण माध्यमिक विद्यालयमा बनाएकाे शाैचालय
वास गेन्स परियाेजनाले श्री नेपाल राष्ट्रिय शम्भुशरण माध्यमिक विद्यालयमा बनाएकाे शाैचालय

विद्यालयमा समावेशी तथा पहुँच युक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा उपलब्ध गराउने र  अपाङ्गता भएका बालबालिकाहरू र किशोर किशोरीहरूको पहुँच वृद्धिका लागि सिकाइकाे वातावरण सृजना गर्ने उद्देश्यले  वास गेन्स परियोजना १ अप्रिल २०२३ देखि ३१ मार्च २०२६ सम्मको लागि सञ्चालन गरिएको हो । परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिकाको २ माध्यमिक र ३ ओटा आधारभुत विद्यालय, बारबर्दिया नगरपालिकाको ४ माध्यमिक र ६ आधारभुत विद्यालय, गुलरिया नगरपालिकाको १० ओटा माध्यमिक विद्यालय, मधुवन नगरपालिकाको २ ओटा माध्यमिक विद्यालय, र गेरुवा गाउँपालिकाको ४ माध्यमिक र २ ओटा आधारभुत विद्यालय गरी  जम्मा ३३ वटा विद्यालयहरूमा सञ्चालन भइरहेको छ ।  

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page