सम्बन्ध बिच्छेदका घटना बढ्दै
प्रकाश पौडेल, गुलरिया । बर्दियामा एक वर्षमा चार सय ४४ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको छ । बर्दिया जिल्ला अदालतमा चार सय ४४ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको जनाएको हो ।
विवाहले पुरुष र महिलाबीचको सम्बन्ध श्रीमान श्रीमतीको रुपमा जोड्ने काम गर्छ । भने सम्बन्ध विच्छेदले सोही श्रीमान, श्रीमती बीचको नाता सम्बन्ध तोड्ने काम गर्छ । स्पष्ट रुपमा भन्ने हो भने पति र पत्नीबीच कुनै पनि प्रक्रियाद्वारा जोडिएको वैवाहिक सम्बन्ध, सामाजिक र कानूनी मान्यता अनुरूप पति पत्नीबीचको नाता सम्बन्धको त्याग पत्र नै सम्बन्ध विच्छेद हो । नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी कानूनी व्यवस्था मुलुकी देवानी सहितै २०७४ को परिच्छेद ३ मा व्यवस्था गरिए बमोजिम रहेको छ ।
बर्दियाको अदालतको तथ्याङ्क अनुसार प्रत्येक वर्ष सम्बन्ध बिच्छेदको मुद्दा बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा चार सय १५ , आर्थिक वर्ष २०७८/०७९ मा दुई सय २४ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको बर्दिया जिल्ला अदालतले जनाएको छ ।
दर्ता भएको चार सय ४४ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता मध्ये तीन सय २५ मुद्दाको फैसला भइसकेको बर्दिया अदालतको शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ गत वर्ष आर्थिक वर्ष फैसला हुन नसकेको एक सय ३० मध्ये यस वर्ष एक सय २३ मुद्दाको फैसला भएको छ । ’
बर्दिया जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवाली बर्दियामा आर्थिक रुपमा विपन्न रहेका गरिब समुदायमा बढी सम्बन्ध बिच्छेद हुने गरेका बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा गएकाहरूको श्रीमान्, श्रीमतीको बीचमा बढी सम्बन्ध बिच्छेद हुने गरेको जानकारी दिनुभयो । त्यसैगरी उहाँले शङ्का उपशङ्कामै अधिकांश सम्बन्ध बिच्छेद हुने गरेको छ ।
बर्दिया जिल्ला अदालत श्रेस्तेदार कपिल पौड्यालले अदालतमा आउने सम्बन्ध विच्छेदमा मुद्दामा रक्सी सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने , रेखदेख नगर्ने, अतिरिक्त प्रेम सम्बन्ध भएको लगायतका कारणले गर्दा हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सम्बन्ध विच्छेदमा मुद्दा लिएर आउनेलाई सकेसम्म मिलेर बस्न पहल गर्ने गरिएको छ । सम्बन्ध विच्छेदले परिवार टुक्राउने भएकाले मिलेर बस्न पहल गर्ने गरेको छौँ । ’
केही समय अगाडि सम्बन्ध विच्छेद भएको एकजना परिवारको छोराछोरीले मेलमिलाप गरेको उदाहरण पनि रहेको श्रेस्तेदार पौड्यालले जानकारी दिनुभयो । उहाँले सम्बन्ध विच्छेदको मुद्दामा मिलापत्र गरेर आएमा तत्काल मुद्दा टुङ्गो लाग्ने गरेको बताउनु भयो । श्रेस्तेदार पौड्याल भन्नुहुन्छ, ‘कानुनले दिएको नियम अनुसार सम्बन्ध विच्छेदको मुद्दामा एक वर्ष लाग्ने गरेको छ । ’
बर्दिया जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष कमलप्रसाद पाण्डेले कम उमेरमा बालविवाह गरेको दम्पती नै बढी सम्बन्ध बिच्छेदका लागि आउने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सम्बन्ध बिच्छेदका लागि आउनेहरू मध्ये अधिकांश ३० वर्ष भन्दा मुनिका बढी रहेको छन् । व्यक्तिगत स्वतन्त्रता, वैदेशिक रोजगार, सामाजिक सञ्जालको बढ्दो प्रयोग, आर्थिक विपन्नता, शिक्षाको कमी पारिवारिक अविश्वासले सम्बन्ध विच्छेदको घटना बढी रहको छ । ’