प्रकाश पौडेल, गुलरिया । बर्दिया जिल्ला अदालतमा १४ प्रतिशत हाडनाता करणीको मुद्दा दर्ता भएको पाइएको छ । अदालतमा जबर्जस्ती करणी तथा यौनजन्य कसुर अन्तर्गत दर्ता भएको मुद्दा मध्ये १४.१ प्रतिशत मुद्दा हाडनाता करणीको रहेको पाइएको हो ।
बर्दिया जिल्ला अदालतमा आर्थिक वर्ष २०८०/८१ मा जबर्जस्ती र यौनजन्य कसुर अन्तर्गत ७८ ओटा मुद्दा दर्ता भएको थियो । जसमध्ये जबर्जस्ती करणीको ५१ ओटा मुद्दा, हाडनातामा जबर्जस्ती करणी/ हाडनाता यौन दुर्व्यवहारको ११ ओटा मुद्दा, जबर्जस्ती करणीको आठ ओटा मुद्दा र यौन दुर्व्यवहार अन्तर्गत आठ ओटा मुद्दा दर्ता भएको बर्दिया जिल्ला अदालतको शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो । अदालतमा हाडनाता करणी अन्तर्गत दर्ता भएका मध्येका १० ओटा मुद्दा चालु अवस्थामा रहेका छन् । एउटा मुद्दाको फैसला भएको शाखा अधिकृत केसीले जानकारी दिनुभयो ।
अदालतमा दर्ता भएको मुद्दामध्ये जबर्जस्ती तथा हाडनाता करणीमा गुलरिया नगरपालिकाका तीन ओटा, मधुवन नगरपालिकाका दुई ओटा, ठाकुरबाबा नगरपालिकाका दुई ओटा, बढैयाताल गाउँपालिकाका दुई ओटा, बासगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका एक/एक ओटा मुद्दा दर्ता भएको बर्दिया जिल्ला अदालतले जनाएको छ । अदालतमा दर्ता भएको अधिकांश मुद्दाहरूमा बालिका नै पीडित भएका छन् । एउटै घरपरिवारमा बसोबास गर्ने तथा नजिकको आफन्तबाट यस्ता घटना घटाइने गरेको तथ्याङ्कमा देखिन्छ ।
हाडनाता करणी अन्तर्गत दर्ता भएको ११ ओटा मुद्दामा पाँच वर्षदेखि १६ वर्ष उमेर समूहका बालिका पीडित भएको पाइएको छ । यी मुद्दाहरूमा बालिकाहरू बुबा, भाइ, हजुरबुबा, काका, सौतेनी बुबाबाट पीडित भएका छन् भने एक जना ४० वर्षीया महिला भतिजबाट पीडित भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
घटनाका आरोपितहरू १३ वर्षदेखि ६९ वर्ष सम्मका रहेका छन् । जिल्ला सरकारी वकिल कार्यालय, बर्दियाका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर बुढा क्षेत्रीले हाडनाता करणीमा उजुरी आएका दुनियाँवादी फौजदारी मुद्दामा, मुद्दा दर्ता हुने र हाडनाता जबर्जस्ती करणी थपिएमा सरकारवादी मुद्दा भएर मुद्दा दर्ता हुने गरेको बताउनु भयो । उहाँले पीडित बालिका १८ वर्षभन्दा कम भएमा जबर्जस्ती करणी र हाडनाताको करणी अभियोगमा मुद्दा दर्ता हुने बताउनु भयो । उहाँले बुबा छोरी, आमा छोराका बीचमा करणी भएका हाडनाता करणी मुद्दामा जन्मकैदसम्मको सजाय हुने कानुनी व्यवस्था रहेको बताउनु भयो ।
बर्दिया जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष कमलप्रसाद पाण्डेले बर्दिया जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी तथा यौनजन्य दुर्व्यवहारका मुद्दामध्ये हाडनाता करणीको मुद्दाको सङ्ख्या हेर्दा गम्भीर चिन्ताको विषय भएको बताउनु भयो । उहाँले यस्ता घटनाले पारिवारिक विश्वास गुम्ने र परिवारमाथि नै आँच आउने हुनाले यस्ता घटनालाई बारले पनि गम्भीर पूर्वक लिएको बताउनु भयो । समाजमा हुने यस्ता खालमा घटनालाई रोकथाम गर्न सबै सरोकारवाला निकायले पहल गर्न जरुरी रहेको अध्यक्ष पाण्डेको धारण रहेको छ । उहाँले समाजमा हुने यस्ता खाले घटना हुन नदिन कानुनी सचेतना जगाउन जरुरी रहेको र यस प्रकारका गम्भीर सामाजिक विकृतिका रूपमा रहेका यस्ता घटनालाई रोक्न सबैले पहल गर्नुपर्ने बताउनु भयो ।
नागरिक समाज सञ्जालको संयोजक हिमा सुनारले परिवारभित्र नै बालिका र महिला असुरक्षित र संरक्षित नहुने विषय गम्भीर भएको बताउनु भयो । उहाँले परिवारभित्र बुबा, दाइभाइ, काका हजुरबुबाबाट बालिका र महिला पीडित हुने गरेको बताउनु भयो । परिवारभित्र हुने हाडनाता करणी, हाडनाता जबर्जस्ती करणी हुनुमा लागू औषधको प्रयोग, मादक पदार्थको सेवन, काममा व्यस्तता नहुनु, सामाजिक सञ्जालको दुरुप्रयोगका कारण पनि हाडनाता करणी र जबर्जस्ती हाडनाता करणीका घटनाहरू बढेको हुन सक्ने संयोजकको सुनारको अनुमान रहेको छ । कतिपय घटना बाहिर ल्याउँदा व्यक्ति असुरक्षित हुने, इज्जत जान सक्ने, मान प्रतिष्ठा गुम्ने लगायतका कारणले यस्ता घटना बाहिर आउन नसकेको सुनारले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले बाल क्लब गठन गर्ने, निगरानी समूह गठन गर्ने, किशोरी क्लब गठन गर्ने, महिला समूह गठन गरेर सचेतना जगाउन जरुरी रहेको छ । विद्यालयमा पनि अतिरिक्त क्रियाकलाप गर्ने विद्याललयबाट नै विद्यार्थीलाई सचेत गराउन जरुरी रहेको छ ।’ संयोजक सुनारले कानुनको बारेमा जानकारी दिन विभिन्न स्थानमा कानुनसम्बन्धी सन्देश दिने खालको होडिङ बोर्ड राख्न प्रचारप्रसार गर्न जरुरी रहेको बताउनु भयो ।
अदालतमा हाडनाता करणी अन्तर्गत दर्ता भएका मध्येका सात जना आरोपितहरू पुर्पक्षको लागि थुनामा, दुई जना आरोपितहरू धरौटीमा रिहा, एक जना अभिभावकको जिम्मा लगाइएको छ ।