Division forest_Ads
Barista_Training

आत्महत्या गर्नेमा सबैभन्दा बढी किसान र दोस्रोमा विद्यार्थी

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बर्दिया भएको आत्महत्या मध्ये ७४ प्रतिशत किसानले आत्महत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्याङ अनुसार  ७४.६२ प्रतिशत किसानले आत्महत्या गरेको पाइएको हो । 

आत्महत्या गर्ने व्यक्तिले तत्काल कुनै आवेशमा समस्याको निष्कर्षमा पुग्न नसकेर जीवनको अन्त्य नै समस्याको समाधान हो भन्ने ठानी आफ्नो जीवनको अन्त्य गर्नु नै आत्महत्या हो । आत्महत्या मानसिक अवस्थासँग जोडिएको हुन्छ । मान्छेले आफ्नो आवेश र संवेगलाई नियन्त्रण गर्न नसकेर प्रायः आत्महत्या गरेको पाइन्छ । 

जिल्ला प्रहरीका कार्यालयले बर्दियाका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा १ सय ३४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने मध्ये एक सय जना ( ७४.६२ प्रतिशत)  किसान, १९ जना ( १४.१७ प्रतिशत ) विद्यार्थी, ६ जना ( ४.४७ प्रतिशत) गृहिणी, आठ जना ज्याला मजदुरी गर्ने , र एक जना व्यापारी  रहेका छन् ।  त्यसैगरी आर्थिक वर्ष २०७९/ ०८० मा १ सय २१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने मध्ये  ७९ जना ( ६५.२८ प्रतिशत ) किसान,  २१ जना ( १७.३५ प्रतिशत ) विद्यार्थी, १४ जना ( ११.५७ प्रतिशत ) गृहिणी, छ जना ज्याला मजदुरी गर्ने , र एक जना कर्मचारी रहेका छन् । भने  आर्थिक वर्ष २०७८/ ०७९ मा १ सय ६१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने मध्ये  ८९ जना ( ५५.२८ प्रतिशत )  किसान, ४२ जना ( २६.२८ प्रतिशत )  गृहिणी , २५ जना ( १५.५३ प्रतिशत )  विद्यार्थी,  एक जना ज्याला मजदुरी गर्ने , र चार जना बेरोजगार रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रहरी उपरीक्षक प्रवीण धितालले  प्रहरीको अनुसन्धान अनुसार असफलता, तनाव, आवेग, गरिबी लगायत कारणले धेरैले आत्महत्या गर्ने गरेको बताउनु भयो ।उहाँले सामान्यतया घरेलु हिंसा, प्रेम सम्बन्ध, अतिरिक्त प्रेम सम्बन्ध, बलात्कार, अनिच्छित गर्भधारण, पारिवारिक बेमेल, पति या पत्नीले अर्को विवाह गर्दा, पर्याप्त दाइजो नल्याएको निहुँमा पाउने मानसिक यातना, पढाईमा असफलता, अत्यधिक ऋण, मानसिक विचलनका कारण आत्महत्या हुने गरेको जानकारी दिनुभयो ।

Basgadhi PSA_final

स्वास्थ्य कार्यालय, बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले बर्दियामा मानसिक रोग विशेषज्ञ नरहेको पनि स्वास्थ्यकर्मीलाई तालिम दिएर उपचार गर्ने , परामर्श गर्ने काम गर्दै आएको बताउनु भयो । उहाँले सीएमसी नेपालको सहयोगमा द्धन्द्ध पीडित  र अरुलाई  पनि मनोपरामर्श सेवा दिइरहेको जानकारी दिनुभयो । उहाँले बारबर्दिया र बर्दिया अस्पताल गुलरियामा महिनाको एक पटक मानसिक रोग विशेषज्ञ आएर सेवा दिए पनि अन्य समयमा चिकित्सक अभाव रहेको  बताउनु हुन्छ । मानसिक रोग अन्य जटिल रोग जस्तै हो , थाहा नपाउँदा मानसिक रोगको बिरामीलाई परिवारले उपचार गर्नु नलैजाने र  धामीझाँक्रीको विश्वासमा परेर झारफुक गर्न लैजाने हुन सक्ने अनुमान  वरिष्ठ जनस्वास्थ्य अधिकृत  गिरीको रहेको छ । उहाँले समुदायमा पनि मानसिक रोग अन्य रोग झै उपचार गरेर ठिक हुने रोग हो भन्ने  बुझाउन जरुरी रहेको छ  भने मानसिक रोगलाई पनि प्रमुख समस्या रुपमा राखेर काम गर्न जरुरी रहेका  बताउनु भयो 

क्लिनिकल मनोविद् डाक्टर विजय ज्ञवालीले आत्महत्याको रोकथाममा अहिले नेपालको प्रमुख समस्या भनेको मानसिक स्वास्थ्यसँग सम्बन्धी भ्रम र जनचेतना र  मानसिक रोगको उपचारमा पहुँचको कमी भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘ एक तर्फ मानसिक रोगको बारेमा जनमानसमा थुप्रै मिथ्याहरू रहेको छ । अर्को तर्फ रोगको पहिचान र उपचारको लागि प्रयाप्त पहुँच छैन  । हाम्रो समाजमा मानसिक समस्या भएको व्यक्ति प्रति राखिने दृष्टिकोण गलत र फरक ढंगको छ । जनचेतनाको कमी या यसप्रतिको बेवास्ताको कारण यस्तो समस्याको लागि उपचारको पहलको सट्टामा आफूमा मानसिक समस्या भएको कुरालाई अभिव्यक्त समेत गर्ने परम्पराको नै विकास भएको छैन । मानसिक रोगी प्रति हेरिने नकारात्मक दृष्टिकोण र यस्तो समस्यालाई पूर्व जन्मको पापको संज्ञा दिने हाम्रो जस्तो समाजमा आफूमा मानसिक र व्यवहारिक परिवर्तन हुँदा हुँदै पनि समाजमा अपहेलित हुने डरले लुकाएर राख्नुपर्ने बाध्यता रहेको छ । परिणाम स्वरुप समाजमा मानसिक समस्याको बारेमा गलत मिय्या व्याप्त रहेको छ । ’

परिवारको चाहना हुँदा हुँदै पनि मानसिक रोगको उपचारको सुविधा र पहुँचको अभावमा धेरै मानसिक रोगीले समयमा उपचार नपाउने अवस्था नरहेको डाक्टर ज्ञवाली बताउनु भयो ।  शहरी क्षेत्रमा पनि यो सुविधा कम रहेको छ । ग्रामीण छेत्रमा अहिलेको अवस्थामा मानसिक स्वास्थ्य सुविधा छँदै छैनको अवस्थामा रहेको छ  । भएका अस्पतालहरुमा कि त मानसिक रोगको उपचार गर्ने विभाग छैन,  भएकामा पनि पर्याप्त दक्ष जनशक्ति छैनन् । र सबै भन्दा ठुलो कुरा आम मानिसमा मानसिक रोगको उपचारको लागि अस्पताल जानु पर्छ भन्ने संस्कारको विकास भएको छैन । नेपालमा अहिले आत्महत्या रोकथामको हेल्पलाइनको पनि अत्यन्त कमी छ  ।  निजी क्षेत्रको प्रयास अप्रयाप्त छ ।  सरकारी क्षेत्रबाट हेल्प लाइनको कुनै व्यवस्था छैन ।  तसर्थ सम्बन्धित क्षेत्रले ध्यान दिनु अत्यन्त जरुरी रहेको डाक्टर ज्ञवाली बताउनु हुन्छ  ।

डाक्टर ज्ञवालीले भन्नु हुन्छ, ‘आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छासँगै खुसी भएर बाँच्ने ईच्छा समेत गाँसिएको हुन्छ । आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नपूर्व कसैको सहयोग अपेक्षा गरिरहेको हुन्छन् । कसैले उनीहरु  कुरा सुनिदेओस् भन्ने चाहना राखेका हुन्छन् । उनीहरूको यो इच्छालाई बुभ्न सकियो र बचाउन सकियो भने जीवन रक्षा हुन्छ । मानसिक समस्या भएको कतिपय मानिसले आफैं समस्याको समाधान खोजेका हुन्छन् । जीवन परिवर्तनका लागि एक मिनेट काफी हुन्छ, त्यसकारण  प्रत्येक व्यक्ति हेल्प लाइन हो । ’


नेपालमा मानसिक स्वास्थ्य सेवामा नागरिक पहुँचको अभाव हुदाँ धेरै मानिसहरू मानसिक स्वास्थ्यको  उपचार सेवा लिन सकेको छैनन् ।  शहरमा केही उपचार केन्द्र भएपनि पर्याप्त छैनन् भने गाम्रीण भेगको अवस्था अझै भयाभव छ । जसका कारण पनि नेपालमा आत्महत्या गर्नेहरुको संख्या बढीरहेको छ । मानसिक स्वास्थ्यलाई प्रमुख स्वास्थ्य समस्याको रुपमा लिएर स्वास्थ्य उपचारको चिकित्सक ,मनोविद लगायतको जनशक्ति व्यवस्थापन गर्न  जरुरी रहेको छ । अन्य रोगलाई झै मानसिक रोगलाई पनि प्राथमिकतामा राखेर सघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तहले काम गर्न  आवश्यक देखिन्छ । 

Leave A Reply

Your email address will not be published.