सर्पको टोकाइबाट दुई जनाको मृत्यु, एकजनाको अवस्था गम्भीर
एच.डी.यु र आइ.सी.यु सञ्चालन नहुदाँ गम्भीर बिरामीलाई बाहिर जानुपर्ने बाध्यता
प्रकाश पौडेल , गुलरिया । सर्पको टोकाइबाट दुई जना बालिकाको मृत्यु भएको छ । सर्पले टोकाइले गुलरिया नगरपालिका – १ गाउँ नम्बर १५ की ९ वर्षीया मायारा चौधरी र ११ वर्षीया स्वर्णिमा चौधरीको मृत्यु भएको बर्दिया अस्पताल गुलरियाले जनाएको छ ।
बर्दिया अस्पतालमा मेडिकल अधिकृत सञ्जय महत्ताले सर्पले टोकेर दुईजना बालिकाको बाटोमा नै मृत्यु भएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो , ‘ ७ वर्षकी रिमा थारूको अवस्था गम्भीर भएकोले थप उपचारको लागि भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको छ ।’
गुलरिया नगरपालिका –१ का राम प्रसाद चौधरीले ७ वर्षीया भान्जी रिमा चौधरीले बिहान एक्कासि पेट दुख्यो भन्ने पनि खैरापुरमा रहेको मेडिकलबाट औषधी लिएर खुवाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ भान्जीले मुखबाट फिँज निकाले पछि अस्पताल लिएर आएका हौ । अस्पताल आएपछि मात्र थाहा भयो भान्जीलाई सर्पले टोकेको रैछ । भान्जीको अवस्था गम्भीर रहेको छ ।
गर्मी मौसममा विशेषगरी सर्प जमिनको सतहमा निस्किन्छन् । जमिनको सतहमा आउने क्रममा सर्प मानिसको घरमा पुग्न सक्छन् । विषालु सर्पले टोकेमा मानिसको ज्यान समेत जान सक्छ ।
बर्दिया अस्पतालका अनुसार चालु आर्थिक २०८१÷०८२ मा बर्दिया अस्पतालमा ४२ जना सर्पले टोकेको बिरामी आएका थिए । जसमध्ये ३ जनालाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । भने गत आर्थिक वर्ष २०८०÷०८१ बर्दिया अस्पतालमा ८७ जना सर्पले टोकेको बिरामी आएको थिए । जसमध्ये ४७ विषालु सर्पले टोकेको १७ जनालाई भेरी अस्पतालमा नेपालगन्जमा रिफर गरिएको अस्पतालका मेडिकल रेकर्डर एवम् सूचना अधिकारी केशव न्यौपानेले जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बर्दिया अस्पताल गुलरिया , ठाकुरबाबा नगरपालिकाको नगर अस्पताल , र बारबर्दिया नगर अस्पतालमा सर्पदंश उपचार कक्ष रहेको जानकारी दिनु भयो । उहाँले गर्मी महिनामा पानी परेपछि पानी जमिन मुनि पस्ने भएकोले सर्पहरू जमिन बाहिर आउने हुँदा सबैलाई सचेत र सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो , ‘ राती सुत्ने बेला ओछ्यान टक्टाउने , जुत्ता लगाउनु अघि जुत्ताभित्र केही छ कि भनि हेर्ने, घर वरिपरि झाडी सफा गर्ने , सर्पले टोकेको शङ्का लाग्न साथ तत्काल औषधि उपचार हुने अस्पताल आउन पर्छ । ’
२०८१ बैशाख देखि साउनसम्म सर्पको टोकाइबाट बर्दियाबाट रिफर भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गर्ने क्रममा ३ जनाले मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भने बर्दिया अस्पतालमा एकै दिनमा दुई जनाको मृत्यु भएको छ ।
अस्पतालले कोभिड –१९ सङ्क्रमण बढेपछि स्थानीय निकाय सहयोग र अस्पतालको आफ्नो लगानीमा २५ शैयाको एच.डी.यु र आइ.सी.यु सेवा सञ्चालनको लागि संरचना तयारी भएको हो । तर जनशक्ति अभाव हुँदा ४ वर्ष भन्दा बढी समयदेखि सेवा सञ्चालन हुन सकेको छैन । जसले गर्दा एच.डी.यु र आइ.सी.यु राखेर उपचार गर्नुपर्ने बिरामी बाहिर जानुपर्ने बाध्यता रहेको छ ।