चार महिनामा बाढी पहिरोमा एक सय ९० जनाको मृत्यु
काठमाडौँ । अविरल वर्षाले गर्दा भएको बाढी पहिरो लगायतका प्राकृतिक विपत एक सय ९० जनाको मृत्यु भएको छ । प्राकृतिक विपतमा परेर चार महीनामा एक सय ९० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
विश्वमा भूकम्प र बाढी –पहिरोको हिसाबले नेपाल उच्च जोखिम मुलुकको सूचीमा पर्छ । भूकम्पको हिसाबले नेपाल ११ औं स्थानमा पर्दछ भने बाढी पहिरोको हिसाबले ३० औं जोखिमयुक्त मुलुकमा पर्दछ । वर्षायामको सुरु भएसँगै हुने भारी वर्षा, बाढी र पहिरो तथा मानवीय कमीकमजोरीका कारण तथा कतिपय ठाउँमा भने मापदण्ड विपरीत बनाइएका मानवीय संरचना कारण मानिसको मृत्यु हुने गरेको छ ।
नेपाल प्रहरी अनुसार गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी भदौ ४ गते दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, बागमती प्रदेशमा ३२ जना, कोशी प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, र काठमाडौं उपत्यकामा ३ जना, गरी जम्मा १ सय ९० जनाको मृत्यु भएको हो ।
भने काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १४ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले छ ।
त्यसैगरी काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ३८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
अहिलेसम्म बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय २७ वटा घर, १ सय १२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय ५२ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ८ सय १९ घर परिवार विस्थापित भएको नेपाल प्रहरीको तथ्याङ्क रहेको छ ।