यज्ञप्रसाद सापकोटा, बर्दिया । बर्दियाका छोटी भन्सार कार्यालय पुनः स्थापनाको माग गर्दै उद्योग वाणिज्य सङ्घ बर्दिया गुलरियाले जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । बर्दिया जिल्लाको सीमावर्ती क्षेत्रबाट अवैध निकासी पैठारी रोकी राजश्व छली रोक्नका लागि छोटी भन्सार कार्यालयहरू सञ्चालन गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
विगतको द्वन्द्वकाल भन्दा अगाडि सञ्चालनमा रहेका छोटी भन्सार कार्यालयहरू विस्थापित हुँदा तस्करी र अवैध निकासी पैठारी तिव्र रुपमा भइरहेको ज्ञापन पत्रमा उल्लेख छ । अवैध निकासी पैठारीले गर्दा अत्याधिक राजश्व छली भएको र इमानदार व्यवसायी मर्कामा परेको उद्योग वाणिज्य सङ्घ बर्दिया गुलरिया अध्यक्ष देवेन्द्र पाण्डेले बताउनु भयो ।
उहाँले सामान किनमेलको लागि सीमापारी जानाले गुलरिया लगाएतका बजारहरू ठप्प भएको र बर्दिया बासी सीमापारीका बजारमा ठगिने गरेको बताउनु भयो । सीमावर्ती भारतीय बजारमा नेपालीको घुइँचो लाग्ने गरेको नेपालका बजार भने सुनसान हुने गरेको बताउँदै बर्दियाका छोटी भन्सार कार्यालयहरू पुनः सञ्चालनमा आएमा अवैध रुपमा हुने आयात पनि घट्ने र नेपाली बजारको व्यापार पनि बढ्ने अध्यक्ष पाण्डेले बताउनु भयो । बर्दियामा फुटाहा, गणेशपुर, कालाबन्जर, छेदापुर, ताराताल, धनौरा लगाएतका छोटी भन्सार कार्यालय विस्थापित रहेका छन् ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी मार्फत उद्योग वाणिज्य संघ बर्दियाले लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएका छन् । बर्दियाको गुलरियामा यातायात कार्यालयको शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउनका माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । बर्दिया जिल्लामा यातायात कार्यालय नहुँदा सर्वसाधारणहरु मर्कामा परेका छन् । बर्दियाबासीहरू सवारी साधन नवीकरण, सवारी चालक अनुमति पत्र नवीकरण लगाएतका काम गर्न बाँकेको नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको छ । लुम्बिनी प्रदेशका कतिपय जिल्लामा दुई ओटा सम्म यातायात कार्यालय भएपनि बर्दिया जिल्लामा एउटा नहुनु दुःखद् रहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्योग वाणिज्य सङ्घ बर्दिया गुलरियाले उठाएको माग सम्बन्धित ठाउँ सम्म पुर्याउने बताउनु भयो ।