९५ प्रतिशत घरधुरीले स्वास्थ्य बिमाको पहुँच बाहिर , जनप्रतिनिधीको छैन् स्वास्थ्य बिमा
बारबर्दियामा अनिवार्य स्वास्थ्य बिमा
प्रकाश पौडेल, गुलरिया । बर्दिया करिब ९५ प्रतिशत घरधुरी स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालय बर्दियाका अनुसार ९४.८३ प्रतिशत घरधुरीको स्वास्थ्य बिमाको पहुँच बाहिर रहेको पाइएको हो ।
स्वास्थ्य राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार बर्दियामा एक लाख छ हजार दुई सय ८५ घरधुरी सङ्ख्या भएपनि स्वास्थ्य बिमामा ४१ हजार तीन सय ३५ घरधुरी सङ्ख्या आवद्ध रहेका थिए । तर स्वास्थ्य बिमा नवीकरण गर्ने २३ हजार चार सय २० परिवार सक्रिय भएको स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालय बर्दियाले जनाएको छ ।
स्वास्थ्य बिमामा आवद्ध भएर सक्रिय रहेको घरधुरी २३ हजार चार सय २० देखिए पनि वास्तविक स्वास्थ्य बिमा गरी सक्रिय रहेका बिमित घरधुरी सङ्ख्या ५ हजार ५ सय ५ मात्र रहेको स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक डिकेन्द्र बहादुर बिष्टले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ स्वास्थ्य बिमामा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई एक व्यक्ति एक घरधुरी मानिएको छ । बर्दिया मात्र ७० वर्ष माथिका १७ हजार नौ सय १५ जना ज्येष्ठ नागरिक स्वास्थ्य बिमामा आवद्ध हुनुहुन्छ । उहाँहरूको नवीकरण स्वतः हुन्छ । जसका कारण पनि स्वास्थ्य बिमामा आवद्ध भएर स्वास्थ्य बिमाबाट सेवा लिने घरधुरी सङ्ख्या बढी देखिएको हो । तर राष्ट्रिय जनगणनाको तथ्याङ्कलाई आधारमा मान्दा स्वास्थ्य बिमा गर्नेको सख्या ५ हजार ५ सय ५ मात्र रहेको छ । ’
जनप्रतिनिधीको छैन् स्वास्थ्य बिमा
बर्दियाबाट निर्वाचित अधिकांश जनप्रतिनिधिको स्वास्थ्य बिमा गरेको छैनन् । स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालय बर्दियाका अनुसार अधिकांश जनप्रतिनिधिको स्वास्थ्य बिमा गरेको छैनन्
बर्दियाबाट निर्वाचित प्रत्यक्ष र समानुपातिक निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य १५ जना मध्ये १२ जनाको स्वास्थ्य बिमा नै छैन भने ३ जनाले स्वास्थ्य बिमा गरेपनि नवीकरण नै छैन् ।
स्थानीय तहका १६ जना प्रमुख तथा उपप्रमुख मध्ये ७ जनाको स्वास्थ्य बिमा रहेको छ । ५ जनाले स्वास्थ्य बिमा गरेको छैनन् । भने ४ जनाले स्वास्थ्य बिमा गरेपनि नबिकरण गरेका छैनन् । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यहरु कसैको स्वास्थ्य बिमा नगरेका स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
स्वास्थ्य बिमाको निती आफू्र निकट दलले ल्याएको दाबी गर्ने नेताको स्वास्थ्य बिमा छैन् । स्वास्थ्य बिमा नगरेका अधिकांश नेताले सरकारी रकमबाट उपचार गर्ने गरेको पाइन्छ ।
बर्दियाक ८ स्थानीय तह मध्ये तीन स्थानीय तहले मात्र स्वास्थ्य बिमा संयोजन समिति गठन गरेको पाइएको छ । बारबर्दिया, बाँसगढी र ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य बिमा संयोजन समिति गठन गरेको पाइएको हो ।
स्वास्थ्य बिमा बोर्डले स्थानीय तहमा बिमा कार्यान्वयन र सहजीकरण गर्ने लगायतका काम गर्न सहज होस भन्ने उदेश्यले स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिती रहने कानुनी व्यवस्था गरेको छ । तर बर्दियका गुलरिया, राजापुर मधुवन नगरपालिका, तथा गेरुवा र बढैयाताल गाउँपालिका स्वास्थ्य बिमा संयोजन समिती गठन गरेको छैन् ।
सरकारले ल्याएको सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन स्थानीय तह स्वास्थ्य बिमा संयोजन समितिको पालिकाको प्रमुख÷अध्यक्ष संयोजक रहने व्यवस्था गरेको छ ।
पालिका प्रमुख वा अध्यक्षको संयोजकत्वमा रहने समितिको सदस्यमा पालिका प्रमुख वा अध्यक्षले मनोनीत गरेको वडा अध्यक्ष, प्रमुख वा अध्यक्षले मनोनीत गरेको सेवा प्रदायक संस्था, प्रमुख वा अध्यक्षले मनोनीत गरेको स्वास्थ्य क्षेत्रमा अनुभव गरेको एक जना र महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य शाखा हेर्न कर्मचारी, स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी, र सदस्य सचीब मा प्रशासकीय अधिकृत वा निजले तोकेका अधिकृत रहने व्यवस्था रहेको छ ।
बारबर्दियामा अनिवार्य स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने निर्णय गरेको छ । पालिकामा रहेका जनप्रतिनिधी, कर्मचारी र शिक्षक अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने निर्णय गरेको हो ।
पालिकाले स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन गराउनका लागि अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने कानुनी व्यवस्था गरेको ।बारबर्दिया नगरपालिका नगर प्रमुख छबिलाल थारुले पालिकाबाट सेवा बुभ्दै आउनु भएका जनप्रतिनिधी, कर्मचारी र शिक्षकलाई अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने व्यवस्था गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ पालिका मातहतमा रहेका कुनै जनप्रतिनिधी कर्मचारी, शिक्षकले स्वास्थ्य बिमा गरेको छैन् भने तलब लगाएतका सेवा सुबिधा उपल्बध हुदैँन । जिम्मेवारीमा बसेको व्यक्तिले स्वास्थ्य बिमा गरेर मात्र अरुलाई स्वास्थ्य बिमा गराउन सकिने भएकोले पनि यस्तो गरिएको हो । ’
बारबर्दिया नगरपालिका स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन निणर्य पर्ने बर्दियाको पहिलो पालिका हो ।
ठाकुरबाबा पनि स्वास्थ्य बिमा अनिवार्य गराउने तयारीमा
ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिकामा रहेको नगर अस्पतालबाट स्वास्थ्य बिमाको सेवा सञ्चालन भएको जानकारी दिनुभयो । उहाँले भएको जनप्रतिनिधी, कर्मचारी, र शिक्षकलाई अनिवार्य स्वास्थ्य बिमा आवद्ध हुने निती ल्याउने तयारीमा रहेको बताउनु भयो ।
बर्दियामा बर्दिया अस्पताल गुलरिया, बारबर्दिया , बाँसगढी , ठाकुरबाबा नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र राजापुर र सोरहवा प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन रहेको छ ।