bardiyahospital

बेपत्ता आफन्तको सम्झनामा दीप प्रज्वलन

Geruwa GIF

यज्ञप्रसाद सापकोटा, बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नं ६ मा रहेको मानपुर माध्यमिक विद्यालयमा शशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकाहरूको सम्झनामा बेपत्ताका परिवारले दिपप्रज्वलन गरेका छन् । विद्यालयमा क्याम्प खडा गरेर बसेको तत्कालीन सुरक्षा फौजले पक्राउ गरी विद्यालयबाट बेपत्ता बनाएको आफन्तको सम्झनामा दिपप्रज्वलन गरीएको हो ।

मानपुर टपरामा रहेको मानपुर माविमा क्याम्प खडा गरी बसेको सुरक्षा फौजले २०५९ साल कार्तिक ३ र ४ गते राजापुरका विभिन्न स्थानमा बस्ने १४ जनालाई राती सुतिरहेको अवस्थामा पक्राउ गरी बेपत्ता पारेको थियो । सोही दिनको सम्झनामा राजापुर नगरपालिका भरीका बेपत्ताका आफन्तीहरूले दिपप्रज्वलन, फोटोमा माल्यार्पण र मौन धारण गरेका छन् । पक्राउ गरी राती राखीएको स्थानमा गएर बेपत्ता आफन्तहरूको सम्झना गरेका छन् ।

cld

यस अघि सम्म विद्यालय हातामा पुग्दा झस्किने विद्यालयको ति भवनहरू देख्ने वित्तिकै आँसु थाम्न नसक्ने बेपत्ता परिवारहरू यस पटक भने हिम्मत जुटाएर विद्यालयमा पुगेर बेपत्ता भएका आफन्तको सम्झना गरेको राजापुर नगरस्तरीय द्वन्द्वपीडित समितिकी अध्यक्ष लौटन थारुले बताउनु भयो । उहाँले यसै विद्यालयबाट राजापुरका १४ जनालाई तत्कालीन राज्यपक्षले बेपत्ता पारेको बताउँदै राज्यले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न धेरै नै ढिला गरेकोे बताउनु भयो ।
२१ बर्ष अगाडी कार्तिक ३ र ४ गते तत्कालीन सुरक्षा फौजले मानपुर माविमा क्याम्प नै खडा गरी आसपासको क्षेत्रबाट १४ जनालाई पक्राउ गरेको थियो । केही दिन सोही विद्यालयको निर्माणाधीन कोठामा खुल्ला आकाश मुनी राखेपछि सुरक्षा फौजले आफु सँगै लगेका थिए । राती घरमा परिवारसँग सुतिरहेको अवस्थामा अर्धनग्न शरीर सहित बाटो देखाइदिन भनेर लगेको आफन्तीहरू बताउँछन् । १४ जनाहरूलाई नै घरमा सुतिरहेको समयमा बाटो देखाइदिन भनेर बाहिर बोलाएर बेपत्ता पारीएको थियो तत्पश्चात ति १४ जना व्यक्तीहरू कहाँ कुन अवस्था छन् हाल सम्म पत्ता लाग्न सकेको छैन । सरकारले उनीहरूको नाम बेपत्ताको सुचिमा राखेको छ ।

राजापुर नगरपालिका वडा नं ६ बस्ने शिवा थारूले आफ्नो श्रीमानलाई अन्तिम पटक मानपुर माविको पूर्व तर्फ रहेको टिनको छाना भएको भवनमा देख्नु भएको थियो । विद्यालय भन्दा पुर्व तर्फ रहेको सडकबाट श्रीमानलाई आँखामा पट्टी बाँधेर राखेको अवस्थामा देखेको उहाँ बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ – त्यतीबेला विद्यालयको सो भवन भर्खर निर्माण हुँदै थियो । झ्याल ढोका हालेको भएपनि माथि छाना थिएन । दिवाल र भुई प्लाष्टर नगरीएको अवस्थामा थियो । कार्तिकको चिसोमा र घाममा खुल्ला आकाश मुनी राखिएको थियो ।’

शिवा भन्नु हुन्छ – ‘अहिले सम्म म यस विद्यालयको ति कक्षा कोठामा पस्न सकेकी थिइन, कोठामा पस्योकी श्रीमान्को यादले आँशु आईहाल्छ । अहिले पनि यही कोठामा रोएको कराएको जस्तो सुन्छु । ’ सरकारले अब त श्रीमान्को अवस्था बारे सार्वजनिक गर्छकी भन्ने आशालागेको छ उहाँले बताउनु भयो ।

बेपत्ता मंगरु थारूकी श्रीमती अनन्त थारूले अझैपनि विद्यालय कै भवनमा श्रीमान् हुनुहुन्छ की भनेर हेर्न आउने गरेको बताउनु हुन्छ । ‘अझैपनि त्यही बाटोबाट झ्याल तिर हेर्छु ।’ बाटो तिर देखाउँदै उहाँले भन्नु भयो –‘त्यहीबाट श्रीमान्लाई यो कोठामा देखेको थिएँ, रोएको सुनेको थिएँ । बाटोबाट हेर्दा सुरक्षाकर्मीले पिटेर लखेटेको भर्खर जस्तो लाग्छ ।’

द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संसोधन भएर नयाँ आयोग गठनको प्रक्रिया सुरु भएको बताउँदै अब कानुन अनुसार दुई महिना भित्र आयोग गठन हुनुपर्ने बताउनु भयो । ऐन अनुसार काम भएमा आयोगले पीडितको पक्षमा काम हुने उहाँले द्वन्द्वपीडितहरुलाई बताउनु भएको छ ।

राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले सरकारले छानविन गरेर बेपत्ताहरूको सार्वजनिक तत्काल गर्नुपर्ने बताउनु भयो । नगरपालिका भित्र रहेका द्वन्द्वकालमा बेपत्ता र मृत्यु भएका परिवारलाई जिविकोपार्जनका लागि आयआर्जनको कार्यक्रम सञ्चालन गरीरहेको बताउँदै बेपत्ताका श्रीमतीहरुलाई मासिक दुई हजार रुपैँया सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको बताउनु भयो । द्वन्द्वपीडित परिवारको न्यायको लागि संघिय सरकारसँग सदैव लडिरहने उहाँले बताउनु भयो ।

राजापुर नगरपालिका भित्र शशस्त्र द्वन्द्वको क्रममा ३९ जना बेपत्ता र ७० जना मृत्यु भएको तथ्याङ्क रहेको छ । द्वन्द्वपीडित समिति बर्दियाका अनुसार बर्दियामा सबैभन्दा बढि दुई सय ५० जना बेपत्ता भएका छन् भने तिन सय २८ जनाको मृत्यु भएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.