

कृष्णसार अनलाइन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले बारबर्दिया नगरपालिकामा रहेको सिकलसेल अस्पताल स्थापनाको काम आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । बारबर्दिया नगर अस्पतालमा स्थापना भएको रक्तसञ्चार सेवा केन्द्रको उद्घाटनमा कार्यक्रममा मन्त्री सारुले सो कुरा बताउनु भयो ।
उहाँले सिकलसेल अस्पतालका लागि आवश्यक लागि आवश्यक पर्ने पूर्वाधार लगायतको जनशक्ति व्यवस्थापन गरेर अस्पताल सञ्चालनको काम अगाडि बढाउने समेत जानकारी दिनुभयो । स्वास्थ्यमा क्षेत्रमा रहेका समस्यालाई समाधानमा गर्नका लागि मन्त्रालयले ५५ बुँदे योजनामा अघि सारेको छ । सोही योजना अन्तर्गत सिकलसेल अस्पताल स्थापनाको काम रहेको मन्त्री सारुले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ स्वास्थ्य क्षेत्रका देखिएको समस्या समाधानका लागि योजनाबद्ध रुपमा मन्त्रालयले काम अगाडि बढाएको छ । अस्पतालको भौतिक संरचना भएपनि जनशक्तिको अभाव स्वास्थ्य संस्थाले भोगिरहनु परेको छ । भौतिक संरचना, अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने मेसिन र चिकित्सक व्यवस्थापन गर्ने गरेर मन्त्रालयले काम सुरु गरेको छ ।’
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले रक्तसंचार सेवा केन्द्र स्थापना भएसँगै सिकलसेल अस्पताल स्थापनाको लागि बाटो खुलेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सिकलसेल अस्पताल स्थापनाको लागि प्रदेशमा धेरै पटक आवाज उठाएको छु । तर अब रक्तसञ्चार सेवा केन्द्र स्थापना भएपछि सिकलसेल र थालसेमिया बिरामी रगत चढाउन अन्त जानु पर्दैन । अब प्रदेश र सघीय सरकारले सिकलसेल अस्पताल स्थापनाको लागि बजेटको व्यवस्थापन गर्नुपर्छ ।’

बारबर्दिया नगरपालिका नगरप्रमुख छविलाल थारूले नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखाको प्राविधिक सहयोगमा रक्तसञ्चार सेवा केन्द्र स्थापना गरी रक्त सङ्कलन को काम अगाडी बढाइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ नगर अस्पतालमा रक्तसञ्चार केन्द्रको स्थापना भएको छ । अब रगत चढाउनु पर्ने बिरामीलाई रगत बिरामीलाई रगत चढाउन नै निम्ती बाहिर जानु पर्दैन । पालिकाले स्वास्थ्यको सुधारको निम्ति काम गरिरहेको छ । यस अघि बर्दियामा बर्दिया अस्पताल, राजापुर र मधुवन नगरपालिका रक्तसंकलन केन्द्र सञ्चालनमा रहेको थियो । अहिले बारबर्दियामा पनि रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको छ ।
बारबर्दियामा सिकलसेल रोग र थालेसिमिया जस्ता रगत चढाउनु पर्ने रोगका बिरामीका लागि, सुत्केरी महिला र आपतकालीन अवस्था रगत चढाउनु पर्ने बिरामीको रक्तसञ्चार सेवा केन्द्र महत्वपूर्ण भएको स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले बताउनु भयो ।
बारबर्दिया रक्तसञ्चार सेवा केन्द्र स्थापना भएसँगै रक्तसञ्चार केन्द्र चारवटा भएको छ । रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम लम्सालले ७१ औँ पटक रक्तदान गरेकोमा स्वास्थ्य मन्त्री खेम बहादुर सारुले सम्मान गर्नु भएको थियो ।