प्रकाश पौडेल, गुलरिया । बर्दियाको गुलरियामा रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको पाइएको छ । कारागारको क्षमता १ सय ५० जनाको भए पनि कारागारमा कैदीबन्दी, थुनुवा र आश्रित बालबालिका गरी ४ सय ४४ जना रहेको पाइएको हो ।
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने कोठा, शुद्ध खानेपानी, शौचालयको अभाव हुँदा कैदीबन्दीले समस्या भोग्नु परेको कारागारका कैदी बन्दी डिल्ली बुढाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘एकतिर क्षमताभन्दा बढी बस्नुपर्ने बाध्यता रहेको छ भने अर्को तर्फ सरकारले कैदीबन्दीको लागि भनेर सञ्चालन गर्ने सीप मूलक कार्यक्रमहरू सञ्चालन हुन सकेको छैन । सजाय पुरा गरेर कारागार बाहिर गएपछि समाज पूर्ण स्थापना कुनै सीप आवश्यक भए पनि पछिल्लो समयमा सीप मूलक तालिमहरू सञ्चालन नहुँदा समस्या परेको छ ।’
कारागारकी कैदीबन्दी पुनम सुनारले कैदीबन्दी र थुनुवाको लागि भनेर आउने औषधिले समेत पर्याप्त नभएको बताउनु भयो । सरकारले कैदीबन्दीको लागि भनेर व्यवस्थापन गरेको औषधिले नपुग्दा बेला बेलामा समस्या हुने गरेको छ । कारागारमा रहेको बन्दीका लागि आवश्यक पर्ने औषधि पर्याप्त मात्रामा पुग्ने गरी व्यवस्थापन हुनुपर्ने सुनारको माग रहेको छ ।
कारागार कार्यालयका प्रमुख काशी पँगेनीले कारागार कैदीबन्दी सजाय पुरा गरेर बाहिर निस्किँदा समाजमा पूर्ण स्थापित भएर स्वरोजगार हुनका लागि विभिन्न तालिम सञ्चालनका लागि माग गरेको बताउनु भयो । उहाँले पुरुष कैदीबन्दीले सिकर्मी, डकर्मी, फर्निचर प्लम्बर र जापानिज, कोरियन र अङ्ग्रेजी भाषा तथा महिला कैदीले सिकाइ कटाइ, ब्युटी पार्लरको, मैनबत्ती, अगरबत्ती, पापड, अचार बनाउने तालिम खेलौना बनाउने, बेकरी दुनाटपरीको तालिम सञ्चालनको माग गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘कारागारको प्रमुख समस्या भनेको कैदीबन्दीहरूको लागि बस्ने कोठा, शुद्ध खानेपानी, शौचालय, दाउराको चुलो विस्थापित गरी अन्य वैकल्पिक उर्जाको व्यवस्थापन आवश्यक रहेको छ ।’ कारागारको जग्गा एक विद्या जग्गा खाली भएकोले थप भवन निर्माण गर्न पनि आवश्यक रहेको उहाँले बताउनु भयो ।
कार्यालय कारागार कार्यालयमा कैदी, थुनुवा, आश्रित बालबालिका गरी ४ सय ४४ जना रहेका छन् । जसमध्ये कैदीबन्दी पुरुष २ सय ६३ जना, महिला ३८ जना, थुनुवा पुरुष १ सय २१ जना र महिला १९ जना र आश्रित बालबालिका तीन जना रहेको छन् ।