कृष्णसार अनलाइन । बर्दियाका सामुदायिक वनहरुले वन पैदावर कटान तथा संकलन गर्न नपाएको गुनासो गरेका छन् । डिभिजन वन कार्यालय बर्दियाबाट स्वीकृत कार्ययोजना बमोजिम वन पैदावर कटान तथा संकलनका लागि सहमति माग गर्दा सहमति नदिएको भन्दै सामुदायिक वनहरुले विरोध जनाएका हुन् ।
वन ऐन २०७६ र वन नियमावली २०७९ बमोजिम स्वीकृत भएका कार्ययोजना बमोजिम वन पैदावर कटान तथा संकलन गर्न पाउनु पर्ने माग गरेका छन् । वन पैदावर संकलन गर्न सहमति नदिँदा उपभोक्ताहरुले आफ्नो अधिकारबाट वञ्चित भएको र उनीहरुले सामुदायिक वन संरक्षण गर्नुको कुनै औचित्य नभएको कार्यवाहक अध्यक्ष रमा पौडेलले बताउनु भयो । उहाँले वन पैदावर दिनहुँ चोरी हुँदै गएको र उपभोक्ताले संकलन गर्न नपाएको गुनासो गर्नु भयो ।
यसैगरी विभिन्न सामुदायिक वन उपभोक्ता समूहले वन नियमावली २०७९ बमोजिम कार्ययोजना परिमार्जन गरी स्वीकृत गरी डिभिजन वन कार्यालयमा पेश गरेपनि स्वीकृत गर्न अस्वीकार गरीएको आरोप लगाउनु भएको छ । उहाँले कुनै सुधार गर्नुपर्ने भएमा वन एैने २०७६ बमोजिम सम्बन्धित उपभोक्ता समुहहरुलाई लिखित रुपमा जानकारी गराउन अनुरोध गर्नु भएको छ ।
सम्पुर्ण सामुदायिक वनको प्रतिनिधित्व गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा बर्दियाले डिभिजन वन कार्यालय बर्दियामा धर्ना सहित निवेदन दिएका छन् ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले नियमावली लागु भएपछि बनेका कार्ययोजनाहरु कानुन सम्बत नभएको हुनाले लागु गर्न नसकिएको बताउनु भयो । उहाँले भन्नु भयो –‘ नियमावलीको नियम १५ले स्पष्ट रुपमा वन सम्वद्र्धन प्रणाली अवलम्बन गर्नु पर्ने छ भनेर उल्लेख गरेको छ, अनुसुचिमा दिएको कार्ययोजनाको खाकामा पनि सोही व्यवस्था गरेको छ । त्यही नियमावली अनुसार कार्ययोजना बनाउनु पर्छ ।’ नियमावली र अनुसुचि अनुसार कार्ययोजना बनाएमा स्वीकृत हुने उहाँले बताउनु भयो ।
नयाँ कार्ययोजना बनेका र कार्ययोजना परिमार्जन भएका सामुदायीक वनहरुले यस बर्ष वन पैदावर संकलन गर्न पाएका छैनन् । आँफैले जोगाएको सामुदायिक वनमा वन पैदावर संकलन गर्न नपाउँदा उपभोक्ताहरुले विरोध जनाएका हुन् ।