मोहक बर्दिया
सुदीप अधिकारी, बर्दिया । बर्दियाका विभिन्न पर्यटकीय क्षेत्रको प्रर्वद्धन तथा प्रचारप्रसार गर्नका लागि लुम्बिनी प्रदेश सरकार र स्थानीय ठाकुरबाबा सरकारले पुस महिनाको पहिलो सातदेखि अभियान नै सुरुवात गरेर भनेका छन्,‘ घुम्न जाऔँ बर्दिया’ । ठाकुरबाबा नगरपालिका –९ ठाकुरद्वारामा पुस ४ गते विशेष कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाले संयुक्त रुपमा ‘घुम्न जाऔं बर्दिया’ कार्यक्रमको शुभारम्भ गरे । अभियानको सुरुवात गर्दै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ कार्यक्रम ल्याएको र यसको सुरुवात बर्दियाबाट गरिएको बताएका छन् । यस क्षेत्रमा पर्यापर्यटनको विकास गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बर्दियालाई अभियानको उद्देश्य रहेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल बताउँछन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले अधिकांश क्षेत्र ओगटेको ठाकुरबाबा नगरपालिका पछिल्लो समय विकास र पूर्वाधारको हिसाबले विस्तारै गति लिन थालेको छ । तर पर्यापर्यटनको क्षेत्रमा प्रचुर सम्भावना भएर पनि राष्ट्रिय नीति र कार्यक्रममा यस क्षेत्रले स्थान पाउन नसकेको गुनासो नगरवासीको छ ।
जैविक विविधता, दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण, बर्दिया राष्ट्रिय निकुञ्ज, देशकै लामो कर्णाली नदी, धार्मिक– भाषिक विविधता, अन्न भण्डार, विविध धार्मिक पर्यटकीय स्थल, धार्मिक सांस्कृतिक, सहिष्णुता सहितको समाजसमेत बर्दियाको चिनारी दिन्छ । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्ये बर्दिया जिल्ला पनि एक प्रमुख पर्यटकीय जिल्लाका रुपमा परिचित छ । बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षित क्षेत्र, बढैया ताल, सत्तखलुवा ताल, कर्णाली गेरुवा पुल, डल्ला होमस्टे, सत्तानुराग होमस्टे, ठाकुरबाबा मन्दिर, केदारेश्वर धाम बर्दियाका मुख्य पर्यटकीय क्षेत्र हुन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज
दुर्लभ वन्यजन्तु र मनमोहक प्राकृतिक सम्पदासँगै जैविक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज तराईकै सबै भन्दा ठूलो संरक्षित क्षेत्रको रुपमा स्थापित भएको छ । बर्दिया जिल्लाको उत्तर तर्फ अवस्थित यो निकुञ्ज ९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । विश्वका दुर्लभ वन्यजन्तुका रुपमा सूचिकृत हात्ती, एक सिंगेगैडा, पाटेबाघ बर्दिया निकुञ्जको मुख्य आकर्षण हो । त्यस्तै निकुञ्जको प्राकृतिक सुन्दरता, बबई उपत्यकाको मनोमहक दृश्य, कर्णाली नदीमा डल्फिनको डुबुल्की, र्याफ्टिङ यस्ता जति हे¥यो हेरिरहु लाग्ने दृश्यहरूसँगै रमाउन कसलाई पो मन नहोला !
९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जको पूर्वमा चिसापानी हुँदै हर्रे लेखसम्मको रत्न राजमार्ग, पश्चिममा कर्णालीको मनाउघाट हुँदै चुरेले कर्णाली भेटेको ठाउँ सम्म पर्छ । यसैगरी उत्तरमा कर्णाली चिसापानी, लेखपराजुल हुँदै हर्रे सम्मको मुख्य पहाडको दक्षिणी भाग र दक्षिणमा बाँकेको चिसापानीदेखि हात्तीसारबाट सोझेै पश्चिम मनाउघाट गएको गेरुवा (कर्णाली) नदी र खौराहा खोलाको भंगालो सम्म झैलिएको छ । निकुञ्जमा पदयात्रा, हात्ती सफारी र गाडी सफारीबाट बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्न सकिन्छ । हाल निकुञ्जमा १० वटा संरक्षित सहित ५५ भन्दा बढी प्रजातिका स्तनधारी, ६ वटा संरक्षित सहित ४ सय ३८ बन्दा बढी पंक्षी, ३ वटा संरक्षण सहित २५ बन्दा बढी घस्रने बन्यजन्तु, १ सय २१ भन्दा बढी प्रजातिका माछाहरु पाइन्छन ।बर्दिया राष्ट्रिय निकुञ्ज बन्यजन्तुको लागि उपयुक्त बासस्थान एवं जैविक विविधताका दृष्टिकोणले धनी छ । नेपालमा दोस्रो ठूलो बाघको संरक्षण भएको बर्दिया राष्ट्रिय निकुञ्ज बाह्रसिंगाको लागि पनि दोस्रो प्राकृतिक बासस्थान भएको निकुञ्ज हो ।
पाटेबाघ, गैँडा, हात्ती, बाह्रासिँगे, चित्तललगाएतका वन्यजन्तु निकुञ्जका मुख्य आकर्षण हुन् । पछिल्लो बाघ गणना अनुसार हाल बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा पाटेबाघ छन् । यो संख्या अझै बढन सक्ने निकुञ्जको अनुमान छ । त्यस्तै यहाँ ३४ वटा एक सिंगेगैडा छन् । निकुञ्मा हात्तीको बथानै छ । बबई भ्यालीको सुन्दर मनमोहक दृश्य, बबई र कर्णाली नदिमा ¥याफटिङ्ग, कर्णाली नदिमा अवस्थित एउटा मात्र खम्बामा अडिएको आकर्षक पुल, लगायत जैविक विविधताले भरिपूर्ण निकुञ्जको अवलोकन सकिन्छ । त्यस्तै निकुञ्ज भित्रका लम्क्यौली, बघौरा, गैँडा मचानलगायतका फाँटामा झुण्ड झुण्डमा देखिने मृग प्रजातीहरु निकुञ्जको अर्को आकर्षण हो । निकुञ्ज परिसरमा रहेको एक सिँगे गँैडाले पनि निकुञ्ज घुम्न आउनेलाई सन्तुष्टि दिने गरेको छ । आफनै अगाडी गैँडा देख्न पाउँदा जो कोही पनि रमाउँछन् । निकुञ्ज परिसरमै रहेको गोही प्रजनन् केन्द्र पनि सबैको आर्कषण बनेको छ ।
कृष्णसार संरक्षित क्षेत्र
कृष्णसार संरक्षित क्षेत्र पनि बर्दियाको एक प्रमख पर्यटकीय स्थाल हो । विश्वमै दुर्लभ जन्तुको रुपमा सुचीकृत कृष्णसार बर्दियामा मात्र पाइन्छ जिल्ला सदरमुकामदेखि करिव ५ किलोमिटर पश्चिम उत्तरमा खैरापुर क्षेत्रमा कृष्णसार संरक्षित क्षेत्र छ । कृष्णसार संरक्षित क्षेत्र करिव ७ सय ८ बिघा क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारले २०६५ यो क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्रको रुपमा घोषणा गरेको हो । कृष्णसार संरक्षित क्षेत्रमा अहिले भाले, पोथी र बच्चा गरि करिव ३ सयको हाराहारीमा कृष्णसार छन् ।
कर्णाली गेरुवा पुल
जिल्लाको आर्कषणको रुपमा अहिले कर्णाली गेरुवा पुल पनि रहेको छ । यो पुल कोठियाघाटमा छ । कर्णाली(गेरुवा) नदीमा यो पुल निमार्ण गरिएको छ । यो पुल १ हजार १४ मिटर लामो छ । यो नेपालकै सबैभन्दा लामो पक्की पुल हो । यो पुलले राजापुर क्षेत्रलाई सदरमुकामसँग जोडेको छ । यो पुल बनेसँगै राजापुर क्षेत्रमा चहलपहल बढेको छ । प्रि–स्ट्रेट प्रविधिबाट बनाइएको यो पुलमा २० वटा पिलर र १८ वटा स्ल्याव छन् । पुल निमार्ण भएसँगै पर्यटकको चहलपहल निकै बढेको छ । आन्तिरिक पर्यटकहरु दिनहुँ जसो पुल हेर्न आउने गर्छन । पछिल्लो समयमा यो स्थान पिकनिक स्थलको रुपमा पनि परिचित हुँदै गएको छ ।
बढैया ताल
बढैया ताल पनि बर्दियाको एक प्रमुख पर्यटकीय क्षेत्र हो । बढैया ताल सदरमुकम गुलरियादेखि करिव २० कलोमिटर पूर्वउत्तरमा पर्छ । यो ताल जिल्लाको बढैयाताल गाउँपालिकामा पर्छ । बढैया ताल करिव १ सय ९ विगाह क्षेत्रफलमा फैलिएको छ । यो ताल जल चराहरु विचरण गर्ने नेपालकै दोस्रो ठूलो प्राकृतिक बासस्थान भएको सिमसार क्षेत्र हो । यहाँ साईबेरिया लगायतका मुलुकबाट पाहुँना जल चराहरु विचरण गर्न आउने गर्छन् । ताल अतिक्रमण, छेउँछाउमा मानविय बस्तीको बढ्दो चाप र कोलहालले गर्दा केही वर्षयता यहाँ जल बिचरणका लागि आउने चराको संख्यामा पनि कमी आइरहेको छ । महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा रहेको बढैया ताल जिल्लाकै सबै भन्दा ठूलो सिमसार क्षेत्र हो । पछिल्लो समय यो ताल पिकनिकको हट स्पटका रुपमा विकशित हुँदै गएको छ ।
डल्ला हामेस्टे
बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने खाता जैविक मार्गमा डल्ला हामेस्टे संचालन गरिएको छ । डल्ला होमस्टे २०६७ सालमा स्थापना भएको हो । यहा २२ वटा घरलाई होमस्टे बनाइएको छ । यहाँ वर्षेनी करिव १० देखि १२ हजार आन्तरिक तथा वाह्य पर्यटक आउने गरेको होमस्टे व्यवस्थापन समितिले जनाएको छ । डल्ला गाउँ होमस्टे संचालन गर्ने सबै थारु समुदाय छन् । हामस्टे संचालन गरेपछि यहाँका मनिसको पानि जीवनस्तरमा निकै सुधार आएको डल्ला हामस्टे संचालकहरु बताउँछन् ।
होमस्टेमा थारु परिकार जस्तै अनदी चामलको भात, लोकल कुखुराको मासु, स्थानीय नदीको माछा, घोँघीको तरकारी, मुसाको चटनी र चामलबाट बनाइएको रक्सीले पाहँुनालाई स्वागत गरिन्छ । पाहुनाको रुची अनुसारका अन्य परिकारले पनि पाहुनाको इच्छा पुरा गरिन्छ । साथै साझपख पाहुँनाको रुची अनुसार विभिन्न प्रकारका थारु नृत्यहरुले पाहुँनालाई मनोरञ्जन दिने गरिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयदेखि करिव ५ किलोमिटर दक्षिणमा डल्ला हामस्टे छ । पछिल्लो समय बर्दियामा होमस्टे थपिने क्रम बढेको छ । अहिले गोबिन्दपुर होमस्टे, रम्मापुर होमस्टे, सत्खलुवा होमस्टे रहेका छन् ।
सत्खलुवा ताल
पछिल्लो समय सत्खलुवा ताल पर्यटकको आर्कषणको केन्द्र बन्दै गएको छ । यो ताल बारबर्दिया नगरपालिकाको वडा नं ९ मा खैरेनी गाउँमा अवस्थित छ । वरिपरि जंगलको बिचमा ताल रहेको छ । सत्खलुवा ताल २६३ दशमलव ६४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । डुुगा सयर गरेर ताल अवलोकन गर्दा पर्यटकहरु खुशीले गदगद हुने गर्छन । ताल अवलोकनका लागि तालको छेवैमा अग्लो भ्यू टावर निर्माण गरिएको छ । भ्यू टावरबाट ताल पुरै अवलोकन गर्न सकिन्छ । तालको नजिकै पिकनिक स्पट रहेको छ । केही वर्षयता यहाँ पिकनिक खान जानेको संख्या बढ्दो छ । सत्खलुवा ताल घुम्न आउनेहरुको सुविधाका लागि ताल नजिकैको खैरेनी गाउँमा होमस्टे पनि संचालन गरिएको छ ।
ठाकुरबाबा मन्दिर
ठाकुरबाबा मन्दिर बर्दिया जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल हो । यो ठाकुरबाबा नगरपालिका वडां ८ मा अवस्थित छ । यो मन्दिरले धार्मिक तथा ऐतिहासिक स्थलका रुपमा विशेष महत्व बोकेको छ । विष्णु भगवानको मूर्ती रहेको यो मन्दिरलाई ठाकुरजीको द्धारको रुपमा वर्णन गरिँदा गरिँदा यस मन्दिरको नाम ठाकुरबाबा मन्दिर रहन गएको भन्ने भनाई छ । यो मन्दिर कहिले स्थापना भएको भन्ने लिखित प्रमाण केही नभए पनि करिव ५ सय वर्ष अघि एक किसानले खेत जोत्ने क्रममा आठ वटा हात भएको (अष्टभुजा ) विष्णु भगवानको मूर्ती फेला पारेपछि यो मन्दिर स्थापना भएको धार्मिक किंवदन्ती रहेको छ । पहिले खरको सानो झुपडीमा रहेको मन्दिरलाई २०३६ सालमा जीर्णेद्धार गरी पुनः निर्माण गरिएको हो । माघे सक्रान्तिका दिन यो मन्दिरमा विशेष पुजाआजा हुने गर्दछ । माघे सक्रान्तिका दिन टाढाटाढाबाट भक्तजनहरु पूजाआजाका लागि आउने गर्छन । यो मन्दिर गजुर शैलीमा निर्माण गरिएको छ । आफुले मागेको वर पूरा हुनुका साथै माघे संक्रान्तिका दिन निःसन्तान दम्पतीहरुले सन्तानको कामना गर्दै वर मागे पुरा हुने जनविश्वास रहि आएको छ । माघे सक्रान्तिका दिन ठाकुरबाबा मन्दिर परिसरमा ठूलो परम्परागत माघी मेला लाग्ने गर्छ । यो मेला करिव एक सातासम्म चल्ने गर्दछ । पछिल्लो समय ठाकुरद्धारा मन्दिरमा हरेक मंगलबार महाआरती हुने गरेको छ ।