

प्रकाश पौडेल गुलरिया । बर्दियामा हिउँदे आगन्तुक जलपक्षीको प्रजाति र सङ्ख्या बढेको पाइएको छ । कर्णाली, नदी गेरुवा नदी बढैयाताल सतखलुवा ताल लगायतको क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षीको गणना गर्दा जलपरीको प्रजाती र संख्या बढेको पाइएको हो ।
विभिन्न देशबाट जाडो छल्नका लागि आउने हिउँदे आगन्तुक जलपक्षीको बर्दियामा हरेक गणना गर्ने गरिएको छ । चालु आर्थिक २०८१÷०८२वर्षको हिउँदमा ९३ प्रजातिका ३ हजार ८ सय ८९ जलपन्छी गणना गरिएको छ । आर्थिक २०८०÷०८१ वर्षको हिउँदमा ९० प्रजातिको ३ हजार २ सय ४ जलपन्छी गणना गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा ९४ प्रजातिका २ हजार १ सय २६ जलपक्षी गणना गरिएको नेपाल पन्छीविद् सङ्घका केन्द्रिय सदस्य चराविज्ञ एवं पानी चरा गणना संयोजक रामबहादुर शाहीले बताउनु भयो ।
उहाँले पानीको कमी, असुरक्षित बासस्थान, आहारा प्रजातिको कमी, डिजेबाजा, र पर्यावरणमा परेको असरका कारण जलपन्छी चराको बासस्थान सङ्कटमा पर्दै गएको बताउनुभयो । उहाँले पानी चराको खेल्ने, बस्ने र खाने ठाउँ प्राकृतिक नदी, खोला, ताल र सिमसार क्षेत्रमा रैथाने संरक्षण प्रर्वद्धन गरी चराको लागि उपयुक्त बासस्थान निर्माया गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो । सरकारले ठूला जनावरको संरक्षणका लागि काम गरेपनि चरा संरक्षणका लागि काम नगरेको शाही बताउनु हुन्छ । उहाँले पछिल्लो समयमा भइरहेको विकास निर्माण वातावरण मैत्री हुन नसक्दा चराहरूको बास स्थान सङ्कटमा परेको, नदीले धार परिवर्तन गर्ने, बिजुलीका तारहरूले चराहरू सङ्कटमा पार्दै गइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानवीय अतिक्रमणले चराको बासस्थान नास हुनु वा बिग्रनु, सिमसार क्षेत्र आसपासमा हुने प्लास्टिक जन्य फोहोर र पर्यावरणमा परेको असर मुख्य कारण देखिन्छ ।’ चरा पर्यटनको विकास र चरा संरक्षणको लागि तीनै तहका सरकारले लगानी गर्न उहाँले आग्रह गर्नुभयो । यस वर्ष जलपछीको सङ्ख्या बढेको छ, यो सकारात्मक पक्ष हो । जलपक्षीको सङ्ख्या कसरी बढाउन सकिन्छ भनेर सरोकारवाला निकाय जिम्मेवार हुन जरुरी रहेको छ ।
नेपाल पन्छी संरक्षण सङ्घका हिरूलाल डगौराले नेपालमा ८ सय ९७ प्रजातिको चरा मध्ये २ सय प्रजातिका जलपक्षीको रहेको जानकारी दिनुभयो । उहाँले वर्षेनी १ सय ५३ प्रजातिका चराहरू बसाइ सरेर आउने गरेको बताउनु भयो । उहाँले प्रत्येक वर्ष गरिने जलपक्षी गणनाले उनीहरूको प्रजाति र सङ्ख्याको बारेमा यकिन गर्न सकिने र संरक्षणको लागि ठोस नीति तथा योजना बनाउन सहज हुने भएकोले जलपक्षीको गणना गरिने गरेको जानकारी दिनुभयो ।
।