

यज्ञप्रसाद सापकोटा, बर्दिया ।
भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र दहालले भत्किएको जब्दीघाटको पुल र नयाँ पुल बन्न स्थानको अवलोकन गर्नु भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले पुल निर्माण गर्नका लागि स्रोत सुनिश्चितता गरेपछि पहिलो पटक पुलको अवलोकन गर्नु भएको हो ।
पुलको अवलोकन गर्दै मन्त्री दहालले हाल पुरानो पुलको अवलोकन र नयाँ पुल बन्ने स्थानको अवलोकन गर्न आएको बताउँदै स्थलगत अवलोकन गरेपछि काठमाडौँ गएर प्राविधिकहरुसँग छलफल गरेपछि काम अगाडी बढ्ने बताउनु भयो । आवश्यक बजेटको स्रोत सुनिश्चितता भएको हुनाले बजेट अभावले काम नरोकिने उहाँले बताउनु भयो ।
भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले भत्किएको पुलको छेउमा निर्माण कम्पनीले नै डिजाईन गरेर बनाउने गरी एक अर्व एक करोड सम्मको लागत सुनिश्चितता भएको बताउनु भयो । अब पुलको डिजाईन सहित निर्माणको लागि प्रक्रिया अगाडी बढ्ने बताउनु भयो ।


हाल लागत अनुमान स्विकृती गर्ने तयारीमा काम गरीरहेको सडक डिभिजन कार्यालय बाँकेका प्रमुख नगरेन्द्र भट्टले बताउनु भयो । उहाँले भत्किएको पुलको तल वा माथी जहाँ उपयुक्त हुन्छ त्यही ठाउँ छनौट गरेर डिजाइन हुने बताउनु भयो । निर्माण कम्पनीले नै डिजाइन गरेर निर्माण गर्नका लागि टेन्डर आव्हान गर्ने प्रक्रिया सुरु गरेको उहाँले बताउनु भयो ।

हाल पुलको काम अगाडी बढाउनका लागि नेपाल सरकार अर्थ मन्त्रालयले पुल निर्माणको काम अगाडी बढाउनका लागि एक अर्ब एक करोड २९ लाख बजेट यस आर्थिक बर्षको लागि छुट्याईसकेको छ ।
पुल निर्माण भएपछि बारबर्दिया नगरपालिका सदरमुकाम गुलरिया सँग प्रत्यक्ष जोडिने छ । २०७४ सालको बाढीमा पुल निर्माण भएर हस्तान्तरण नहुँदै जब्दीघाटको पुल भासिएको थियो । पुलबाट जोखिम मोलेर स्थानीयहरु आवतजावत गरीरहेका थिए । २०७९ सालको बाढीले पुल पूर्ण रुपमा भत्किएपछि आवतजावत नै ठप्प भएको थियो । हाल बारबर्दियाबासी सदरमुकाम पुग्नका लागि बर्षातमा डुंगाको भरमा नदी तर्ने गरेका छन् भने हिउँदयाममा पैसा तिरेर काठको पुल तर्न बाध्य छन् ।