

कविता
प्रिय सिमल!
शिशिरले तिमीबाट
लुटेर लग्यो
खातका खात
हरिया पातहरु
र एक समय
तिमी रित्तियौ
छोडेर तिमीलाई
चराहरु उडी गए
हे सिमल!
समयको गति
बेगवान छ
आज बसन्तले

तिम्रा हागामा राता
फूल फुलाएको छ
तिमी रसले भरिएकी छ्यौ
सन्ध्यामा रातअघि
तिम्रै फूलको रसमा
अनगिन्ती चराको
चिरबिर छ
सिमल!
जड भएर पनि
तिमी आज
लुट्नेहरु र लुटिनेहरु
दुखमा छोडेर जानेहरु
सबै सबैका लागि
धैर्य र संयमको
गहिरो ज्ञान छरिरहेकी छ्यौ
जगतमा सौन्दर्य भरिरहेकी छ्यौ।