
प्रकाश पौडेल, गुलरिया । शसस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका बुवा रामदास थारूको २३ वर्षपछि मृत्यु संस्कार गर्नका लागि मान्छेहरू जम्मा हुँदा २८ वर्षीया अस्मिता कुस्माको आँखामा आँसु थियो ।
उहाँको घरमा चैत्र २७ गते बिहानै देखि मान्छेहरूको भिडभाड थियो । आफ्नो आँसु आमा सुगमती थारू र अन्यलाई नदेखुन भनेमा सचेत हुनुहुन्थ्यो । त्यहीँ भएर घरको एक कुनामा बसेर बेपत्ता बुबालाई सम्झदै बुबाको अन्त्येष्टीका लागि बिदाइका फूलको माला उन्दै हुनुहुन्थ्यो । घरमा जम्मा भएका आफन्त र छिमेकीहरूले कोही कुशको शव बनाउन व्यस्त थिए । भने कोही लास बोक्नका लागि बाँसको डोला बनाउदै थिए ।

२०५८ साल चैत्र २६ गते ३८ वर्षीय बुवा रामदास थारूलाई इलाका हुलाक कार्यालय भुरिगाउँमा काम गरिरहेको अवस्थामा तत्कालीन शाही नेपाली सेनाले कुटपिट गर्दै गाडीका हालेर लगेको अस्मिता बताउनु भयो । बुवा बेपत्ता हुँदा ५ वर्ष रहेकी कुस्माको बुवाको २३ वर्ष पछि कुशको शव बनाएर थारू परम्परा अनुसार अन्तिम अन्त्येष्टी गर्ने गरिएको छ ।

उहाँ भन्नुहुन्छ , ‘ दाइ र म सानै थियौ । बुवा हुलाकमा हल्काराको जागिरे गर्नुहुन्थ्यो । भने आमा घरको काम गर्नुहुन्थ्यो । त्यति वेला नेपाल भएको सशस्त्र द्वन्द्व कालमा बुवालाई माओवादी भएको आशका राज्य पक्षले लिएर गयो । हामी सानै भएकोले त्यति बेला सबै कुरा बुझेका थिएनौ । घरका परिवारले बुवाको खोजी गर्नु भएको तर बुवा फेला पर्नु भएन । बुवा बेपत्ता भएपछि आमाले निकै दुःख पाउनु भयो । आमाले मजदुरी गर्दै र परिवार, आफन्तको साथ सहयोग लिएर जसोतसो हामी दाजुबहिनीलाई आत्मनिर्भर हुने गरी शिक्षादीक्षा दिनुभयो । तर बुवाको अभाव भने हाम्रो परिवारले सधैँ पीडा भोग्यो । बुवाको मुत्यृ भएको भएपनि बुवा हुनुहुन्न भन्ने थाहा हुन्थ्यो । तर बेपत्ता हुँदा बुवा आज आउनु हुन्छ की भोलि आउनु हुन्छ की भन्ने लाग्ने गर्दथ्यो ।’
आमा सुगमतीको अभिभाकत्व र प्रेरणाले यहाँसम्म पुगेको भएपनि बुवाको बारेका सत्य थाहा नपाउँदा निकै कष्टकर भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘सानो हुँदा आमा रोएको देख्दा आमा किन रुनु भएको होला भन्ने लाग्थ्यो । म आमा रोएको कारण बुझन् सक्दैनथे । तर अहिले आएर बुझ्न सक्छु आमाको पीडा । राज्यले बुवालाई बेपत्ता भएकोले आमा रुनुहुन्थ्यो ।’
शसस्त्र द्वन्द्व कालमा सबैभन्दा पीडित भनेको बेपत्ता परिवार हो । परिवारको एकजना व्यक्ति बेपत्ता नहुदाँ पीडितले अनेक हन्डर र ठक्कर खानु परेको छ । परिवारमा कमाउने मान्छे नहुदाँ कतिपय परिवारको अवस्था निकै कष्टकर भएर बितेको छ ।

उहाँ भन्नुहुन्छ, ‘राज्यले बुवाको अवस्था सार्वजनिक गरिदिन्छ की भनेर दुई दशक भन्दा धेरै अवधि प्रतीक्षा ग¥यांै । राज्यले बुवाको अवस्था सार्वजनिक गरिदिएन । गाउँघरमा पनि बुवाको बारेमा धेरै प्रश्न उठ्न थालेपछि र धार्मिक कार्यमा समेत हाम्रो परिवारलाई फरक व्यवहार गरिन्थ्यो । नातागोता र समाजले ‘अब बुवाको अन्त्यष्टी गर्न सुझाव दिनु भयो । अन्ततः हामीले बुवाको काजकिरिया गर्ने निर्णय लिएका हौँ । बुवा बेपत्ता भएको २३ वर्ष हुँदा समेत राज्य बुवाको अवस्था सार्वजनिक नगरेर हामी पीडित परिवारलाई पीडा दिनुको साथै राज्यले निरन्तर अपराध गरेको छ । सत्य थाहा पाउने अधिकारबाट हामीलाई बन्चित गरेको छ ।’

आफ्नो बुवा जस्तै हजारौ ब्यक्तिको योगदान र बलिदानबाट आजको परिवर्तन सम्भव भएको र देशमा अहिलेको गणतन्त्रात्मक संघीय राज्य ब्यवस्था अभ्यास गर्न पाएको हो भन्ने कुस्मीको बुझाइ रहेको छ । उनी भन्छिन्, ‘ हामी जस्ता सामान्य परिवारको योगदानले आजको परिवर्तन सम्भव भएको हो, त्यसैले राज्यले हाम्रो पीडा बुझ्नुपर्छ । राज्यले बेपत्ता तथा सहिद परिवार प्रति सम्मानजनक व्यवहार गर्नुपर्छ ।’
‘बुबा नभएको पीडा मैले दाई र आमाले प्रत्यक्ष भोग्यौँ । आमाले मजदुरी गरेर हामीलाई पढाउनु भयो । त्यो संघर्ष पीडा भो्ग्नेलाई मात्र थाहा हुन्छ, उनी भन्छिन् । पीडित परिवारलाई राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको ज्ञारेन्टी गर्नुपर्छ । सशस्त्र द्वन्द्व कालमा पीडित भएका बेपत्ता परिवारलाई राज्यले पहिलो प्राथमिता दिनुपर्ने उनको माग समेत रहेको छ ।


