
प्रकाश पौडेल, गुलरिया । बर्दिया कारागारमा औषधी अभाव हुँदा कैदीबन्दीलाई समस्या भएको छ । क्षमताभन्दा कैदीबन्दी रहेको बर्दिया कारागारमा कैदीबन्दीको सङ्ख्या अनुसार औषधी उपचार खर्च उनीहरूको स्वास्थ्य उपचारमा समस्या भएको हो ।
१ सय ५० जनाको क्षमता भएको बर्दिया कारागारमा ४ सय २८ कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागारमा पछिल्लो समय औषधीको अभाव हुन थालेको छ । नेपालको कानुनले कारागारलाई सुधार गृह रूपमा लिएको छ । तर कारागारको व्यवस्थापनमा राज्यले लगानी नगर्दा कारागारमा बस्ने कैदीबन्दीको लागि यातना गृह बन्दै गएको छ । सानो क्षेत्रफलमा धेरै जना बस्नुपर्ने भएकोले रोग फैलिन सक्ने जोखिम उतिकै छ । जाडोभन्दा गर्मी महिनामा कारागारको बसाइँ कष्टकर हुने गरेको छ भने त्यसमाथि विभिन्न रोग फैलिने जोखिम समेत रहेको हुन्छ ।

कारागारका आन्तरिक प्रशासन प्रमुख हरिकृष्ण भुजेलले क्षमताभन्दा बढी कैदीबन्दी रहेको हुँदा कारागारको सानो कोठामा कोच्चिएर सुत्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘शौच गर्न, नुहाउन लगायत व्यक्तिगत सरसफाइका लागि समेत लामो लाइन बस्नुपर्ने बाध्यता रहेको छ । खेल्न र शारीरिक व्यायाम गर्नका लागि ठाउँ साँघुरो भएको हुनाले त्यसको पनि पर्याप्त सुविधा छैन । खाना पकाउने भान्सा सानो र साँघुरो हुँदा सास्ती भोग्नुपर्ने अवस्था रहेको कैदीबन्दीको रहेको छ ।’
कारागारका अहेब चक्रबहादुर सिंहले कारागारका औषधी खरिद लागि ५ लाख ५० हजार बजेट आएको बताउनु भयो । औषधी खरिदका लागि आएको बजेटबाट करिब वार्षिक ४५ हजार बराबरको महिलालाई प्याड खरिद गरेर अन्य पैसाले औषधी खरिद गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले कारागारभित्र रहेका सुगर, प्रेसर, थाइराइड, मानसिक रोगका औषधी खाने बिरामीलाई भएकोले सरकारले पठाएको बजेटले औषधी खरिद गर्न नपुग्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘कारागारका अहिले मेटफरमिन, जीटु, एम्लोड–५ सोडियम भाल्पोरेट, प्यान्टोपराजोल, ओमेपराजोल लगायत औषधीको अभाव भएको छ । कारागारमा दीर्घ रोगी समेत भएकोले ५ लाख ५० हजारको बजेटले औषधी खरिद गर्न पुग्दैन ।’
बर्दिया कारागारका प्रमुख नरबहादुर सार्कीले माग धान्नका लागि १० लाख रुपियाँभन्दा बढी रकम खर्च हुने बताउनु भयो । उहाँले आवश्यकता अनुसार औषधी अभाव भएपछि औषधी खरिदका लागि विभागमा पत्र पठाएको जानकारी दिनुभयो ।


