जिविकोपार्जनका लागि बादी समुदायका महिलाहरूलाई बाख्रा वितरण

यज्ञप्रसाद सापकोटा, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले बादी समुदायका महिलाहरूलाई बाख्रा वितरण गरेको छ । न्यून आर्थिक अवस्था भएका बादी समुदायका महिलाहरूलाई जिविकोपार्जन गर्न सहज होस भनेर बाख्रा वितरण गरिएको हो ।
राजापुर नगरपालिकामा करिब ४७ घरपरिवार बादी समुदायको बसोबास रहेको छ । यस बर्ष २० घरपरिवारलाई प्रति घरपरिवार दुई ओटाका दरले बाख्राका पाठी वितरण गरिएको थियो । भने गत बर्ष पनि २० घरपरिवारलाई प्रति घरपरिवार दुई ओटाका दरले बाख्राका पाठी वितरण गरिएको थियो । यस वर्ष करिब चार लाख लगानीमा बाख्रा वितरण गरिएको छ । गत बर्ष १५ किलोग्राम भन्दा बढी तौलका पाठी वितरण गरिएको हुनाले गत वर्ष दिइएका पाठीहरूले उत्पादन दिइसकेका छन् ।
बाख्रा पाएपछि राजापुर नगरपालिका ४ अनन्तपुरकी गाजली देवी बादी खुसी हुँदै अब व्यवसायीक रुपमा बाख्रापालन गर्न सुरु गर्ने बताउनु भयो । उहाँले भन्नु भयो –अब राम्रो सँग बाख्रा पाल्छु, समय समयमा सरहरूले पनि आएर बाख्रा चेक जाँच गरिदिनु पर्यो ।’
राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले बादी समुदायका महिलाहरू जिविकोपार्जनका लागि सहज होस भनेर बाख्रा वितरण गरिएको बताउनु भयो । गत बर्ष २० घरपरिवार लाई यस बर्ष २० घरपरिवारलाई बाख्रा वितरण गरिएको बताउँदै बाँकी रहेका घरपरिवारलाई अर्को आर्थिक बर्षमा वितरण गरिने बताउनु भयो । बाख्रा वितरण गर्दै उहाँले व्यवसायीक रुपमा बाख्रापालन गरेर जिविकोपार्जन गर्नका लागि आग्रह गर्नु भयो ।
राजापुर नगरपालिकाकी नगरउपप्रमुख मनकला कुमारी चौधरीले बादी समुदायहरू जग्गा नभएका आर्थिक रुपमा विपन्न भएको हुनाले जिविकोपार्जन गर्नका लागि सहयोग गर्दै आएको बताउनु भयो । महिलाहरूलाई सचेतना मुलक कार्यक्रम सञ्चालन गरि आर्थिक तथा सामाजिक शशक्ती करण गराउने प्रयास गरिएको बताउनु भयो ।


