
कृष्णसार अनलाइन । बर्दियामा भएको सडक दुर्घटनामा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल ( राकेश ) को मृत्यु भएको छ । मधुवन नगरपालिका, ८ लालसिंह चोकमा भएको मोटरसाइकल दुर्घटना परी घाइते भएका ५७ वर्षीय बस्यालको उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार साँझ करिब ८ बजेको समयमा ढोढरीबाट गुलरिया आउने क्रममा ४२ वर्षीय विष्णु पौडेलले चलाएको मोटरसाइकलले बारबर्दिया नगरपालिका, ४ का प्रदीप थारूले चलाएको साइकललाई ठक्कर दिएको थियो ।मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक पौडेलको दुबै खुट्टा र दाँया हातमा चोट लागेको थियो भने साइकल चालक थारूलाई सामान्य चोट लागेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका बस्यालको दुबै खुट्टा र हात तथा टाउकोमा चोट लागेको थियो । दुर्घटना परी गम्भीर घाइते भएको बस्याललाई तत्काल उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएको थियो । बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बस्याललाई नेपालगञ्ज नर्सिङहोममा लगिएको थियो । उपचारको क्रममा राती ११ बजे बस्यालको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुधीरकुमार खड्काले बताए । मोटरसाइकल चालक पौडेल र साइकल चालक चौधरीको अवस्था सामान्य रहेको छ ।


