
गुलरिया । मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरेको छ । मदन पुरस्कार गुठीले मङ्गलबार विज्ञप्ति जारी गर्दै उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।
छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो : कैलाशदेखि गङ्गासम्म, कुमारी लामाको दर्ज्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्वको पालाम , श्रेयज सुवेदीको बहुरूपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह ( नेपालको भोट-चीन सम्बन्ध र भारत ) र तीर्थ गुरुङको हिउँको गीत उत्कृष्ट सातमा परेका हुन् ।

प्राप्त भएका २९९ पुस्तकबाट उत्कृष्ट सात छनोट गरिएको गुठीले जनाएको छ । यी सात मध्ये एक पुस्तकलाई मदन पुरस्कारका लागि छनोट गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।
‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा सवर्प्रथम २०१२ साल असोज १० गते भएको थियो। २०१३ सालमा पहिलोपटक “हाम्रो लोक संस्कृति” का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा” का लागि चित्तरञ्जन नेपाली तथा “ अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ प्राप्त गर्नुभएको थियो।


