bardiyahospital

हे श्री कृष्ण

कविता

Geruwa GIF

राजेन्द्रप्रसाद धिताल ।

हे श्री कृष्ण !

cld

को हौ तिमी?

महान कविका

अद्भूत कविता हौ

या शाश्वत जगत नियन्ता

सर्वशक्तिमान्

परमसत्ता !

कहाँ छौ तिमी?

मूर्त स्वरुप पत्थर भएर

मन्दिरमा छौ

या अमूर्त अध्यात्म ज्योति बनेर

प्राणीका मन मन्दिरमा छौ!

नजर अनुसार पृथक छौ तिमी

रहर अनुसार पृथक।

मत अनुसार पृथक छौ तिमी

पथ अनुसार पृथक ।

 

म कुनै मतको नजिक छैन

म कुनै पथको नजिक छैन

त्यसैले

भारी अन्योलका बीचबाट

म तिमीलाई खोजिरहेछु, सोधिरहेछु

मैले बाल्यकालमा

श्री व्यासका लयबद्ध कवितामा

तिम्रो बाललीला देखेको हु

तिम्रो रासलीला हेरेको हु

 

हे श्री कृष्ण !

मैले तिमीमा विविधा देखेको छु

प्रेमीका निम्ति रङीन

दुश्मनका निम्ति रङ्गहीन

साधुका निम्ति निर्मल

दुष्टका निम्ति निर्मम

कोमल पनि तिमी

कठोर पनि तिमी

 

मैले तिमीलाई

आत्मीयहरूका अगाडि

कोमल भएको देखेको छु 

आततायीहरू अगाडि

निर्मोही भएको देखेको छु

तिमीले अपमान भोगेका छौ

उत्पीडन देखेका छौ

र पलपलमा

पथपथमा तिमीले

अत्याचारको प्रतिवाद गरेका छौ

अनाचारको सामना गरेका छौ

सज्जनको संरक्षण गरेका छौ

दुष्टको सर्वनाश गरेका छौ

यी सव परिघटना

मैले कोमल बालापनमा

निर्निमेष हेरेको छु

र म सर्वथा

तिम्रो समीप रहेको छु

 

हे श्री कृष्ण !

एक दिन तिमीले

आफ्नी जीवन सङ्गिनी

रुक्मिणीसँग ठट्टा गर्दै

भनेका थियौ

प्रिय मसँग केही छैन

र केही नहुनेहरू नै मलाई प्रेम गर्छन्

 

हे कृष्ण !

मेरो कलिलो मनलाई

छोएको यो कुराले

र आज पर्यन्त म सम्झिरहन्छु,

जसको कोही छैन

त्यसको तिमी छौ

हे श्री कृष्ण !

तिमी जो भए पनि

जहाँ भए पनि

तिमी उत्पीडितहरूका सहारा हौ

केही नहुनेहरूका

कोही नहुनेहरूका

तिमी आशा, विश्वास र भरोसा हौ

मलाई पनि लाग्छ

यो अनित्य संसारमा

मेरो केही छैन

मेरो कोही छैन

त्यसैले

म तिमीलाई आफ्नो मान्छु

तिमीलाई आफूभित्र भएको ठान्छु!

online dubble sclaed
Leave A Reply

Your email address will not be published.