
प्रकाश पौडेल, गुलरिया । बर्दियामा करेन्ट लागेर ४३ जनाको मृत्यु भएको छ । चार वर्ष तीन महिनामा करेन्ट लागेर ४३ जनाको मृत्यु भएको हो ।
विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन सके दुर्घटना रोक्न सकिन्छ । करेन्ट लागेर वर्षेनी हुने मानवीय मृत्यु कम गर्न सकिन्छ । त्यसका लागि विद्युतीय उपकरण गर्दा अपनाउने सावधानीका बारेका सचेतना मूलक गर्न आवश्यक रहेको छ । वर्षेनी करेन्ट लागेर मानिसको मृत्यु हुँदा समेत नेपाल विद्युत प्राधिकरणले खासै चासो देखिएको छैनन् । बर्दियामा करेन्ट लागेर चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म करेन्ट लागेर ३ जनाको, गत आर्थिक वर्ष २०८१/०८२ मा परी १० जनाको आर्थिक वर्ष २०८०/ ०८१ मा ९ जनाको , आर्थिक वर्ष २०७९/०८० मा १२ जनाको र आर्थिक वर्ष २०७८/०७९ मा ९ जनाको मृत्यु भएको जिल्ला विपद् समितिका सम्पर्क व्यक्ति विमल गुरुङले बताउनु भयो ।

विद्युत संरचनामा प्राविधिकद्वारा निर्धारित विद्युत सुरक्षा व्यवस्था नअपनाइएको, प्राविधिकद्वारा निर्धारित विद्युत सुरक्षा व्यवस्था अनुसार विद्युत संरचनाको आवश्यक मर्मत सम्भार नगरिएको र प्राधिकरणको कारणबाट कुनै प्रकारको प्राविधिक त्रुटि हुन गइ दुर्घटना हुन गएको ठहर भएमा पीडित पक्षलाई पुग्न गएको हानी नोक्सानी बापत क्षतिपुर्ती दिइने व्यवस्था विद्युत दुर्घटना क्षतिपुर्ती विनियमावलीमा २०६७ ले गरेको छ ।
करेन्ट लागेर हुने मानवीय मृत्यु आगजनीबाट बच्न विद्युतीय प्राधिकरणको नियमित निरीक्षण गर्ने र विद्युत सम्बन्धी काम गर्दा विशेष ध्यान दिने, बिग्रिएको उपकरणको समयमा मर्मत गर्ने, मिटर वा विद्युतीय बक्सहरूसँग खेलवाड नगर्ने, खुल्ला विद्युतीय उपकरण नजिक बालबालिकाको खेलकुद नदिने र खुला तार, ट्रान्सफर्मर, पोल आदिको नजिक खेल्न नदिने, विद्युतको पोल गाडिएको ठाँउमा गाईबस्तु नबाँध्ने गरेमा करेन्ट लाग्ने जोखिम कम हुन्छ ।
नेपाल विद्युत प्राधिकरणका इन्जिनियर एवम् सूचना अधिकारी गान्धी नारायण मण्डलले आफू कार्यालयमा आएपछि समुदायमा सचेतना मूलक कार्यक्रम नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ विद्युतमा काम गर्ने कर्मचारी अन्य प्राविधिकका लागि तालिम हुने गरेको छ ।’


