
प्रकाश पौडेल, गुलरिया । बर्दियाको बारबर्दिया नगरपालिका, ११ बेलभार गाउँमा दिनहुँ जस्तो चितुवा आउन थालेपछी गाउँ नै चितुवाको त्रासमा छ । दिनहुँजस्तो गाउँमा दिउँसो, साँझ र राति चितुवा देखा देखिन थालेपछी गाउँ नै चितुवाको त्रासमा परेका हुन् ।
बारबर्दिया नगरपालिका, १० र ११ मा एक महिनाको अवधिमा महिनामा चितुवाको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । बेलभार गाउँसँग जोडिएको विजयनगर डफैया लगायतको गाउँमा चितुवा आएर दिनहुँ जस्तो घरपालुवा जनावर मार्न थालेपछी स्थानीयहरू त्रसित भएका हुन । सामुदायिक वनसँग जोडिएको गाउँमा चितुवा आएर बँगुर, खसीबाख्रा मारेर खान थालेपछी स्थानीय हैरान भएका छन् । बस्तीमा चितुवा आएपछि चितुवा लखेट्न स्थानीयले भाडा बजाउने गरेका छन् ।

जीवनयापन गर्नका लागि कृषि पेशा गर्दै आएका बेलभार गाउँका वीरबहादुर थारूले घर अगाडिको गोठमा बाँधेर राखेको करिब ३० किलोको बंगुर चितुवाले मारिदिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘चितुवा बंगुर मारेर अगाडिको वनमा लगेर आधा खाएको अवस्थामा बंगुर भेटियो । गाउँमा बंगुर खाने घटना दिनदिनै बढ्दै गएको छ। गाउँमा प्रायः बच्चासहितको चितुवा देखिन्छ। कति बेला कताबाट आएर कसलाई आक्रमण गर्छ भन्ने डर हुन्छ ।’
गाउँमा शनिबार साँझ ७ बजे चितुवा आएको देखेपछि गाउँका सबैजना जम्मा भएर होहल्ला र थाल ठटाएर चितुवालाई भगाएको थारूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘चितुवाले मान्छे मारेपछि डिभिजन वन कार्यालय खोर ल्याएर दुईचार दिन राख्छ । केही दिनपछि फेरि त्यो खोर लैजान्छ । मंसिर १२ गते गोपी थरुनीलाई चितुवा आक्रमण गरेर मार्यो । गोपी थरूनीको मृत्यु भएपछि डिभिजन वन कार्यालयले खोर ल्याएर राख्यो । अहिले त्यो खोर अर्को ठाउँ लगेर गएको छ । तर चितुवा गाउँमा दिनहुँ आउँछ ।’
चितुवाले आक्रमण गरेर तीनवटा बाख्रा मारिदिएको बेलभार गाउँकी सुन्तली चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो,‘खसी बाख्रा बेचेर घर खर्च चलाउने गरेकी थिए । चितुवाले तीनवटा खसी बाख्रा मारिदियो । अब घर खर्च कसरी जोहो गर्ने भन्ने चिन्ता छ । एकातिर घरखर्च कसरी जोहो गर्ने भन्ने चिन्ता छ । भने अर्कोतिर केटाकेटीहरू कुरा बुझ्दैनन् खेल्न यताउता जान्छन् । चितुवा कुन बेला आएर के गर्छ, थाहा हुँदैन ।’
बेलभार गाउँकी बिमला चौधरीले चितुवाले आक्रमण गरेर घरमा पालेको बँंगुर मारे पनि कुनै निकायबाट आफूले राहत नपाएको गुनासो गर्नुभयो । ‘गाउँ दिनहुँ चितुवा आएर घरमा पालेका खसीबाख्रा बंगुर मारेर खाइदिन्छ । राहत कसले दिन्छ ? कसरी पाइन्छ थाहा छैन् । गाउँमा चितुवाको त्रास यति धेरै छ कि गाउँ पहिला कस्तो चहलपहल हुँदैन । साँझ परेपछि सबैजना घरमा बस्नुहुन्छ ।गाउँमा केहि समस्या परे बाहिर निस्किने वातावरण छैन् ।’ उहाँले भन्नुभयो, ‘गाउँबाट दैनिक ३ सय २९ जना सामुदायिक वनको झाडी काट्न आउने गरेको छौँ । चितुवा कहिले खेतमा आउँछ, कहिले गाउँमा आउँछ । गाउँमा सबैजना चितुवा त्रासमा छन् ।’
बेलभार गाउँका मानबहादुर चौधरीले अहिले आफू ७० वर्षको भएको र बेलभार गाउँमा बस्न थालेको पनि ४७ वर्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिला गाउँ यसरी चितुवा आएको थाहा थिएन । आजकाल दिनहुँ गाउँ चितुवा आउँछ । राति दिशापिसाब गर्न आउँदा चितुवाले आक्रमण गर्छ , कि भन्ने डरले धेरैले दिशा पिसाब गर्न धेरैले घरभित्र बाल्टी र बाटा लग्ने गरेको छन् ।’
काला बेलभार सामुदायिक वनका अध्यक्ष धनिराम थारूले चितुवाले घरपालुवा जनावर मारेपछी डिभिजन वन कार्यालय फोटो खिचेर वडा कार्यालय सिफारिस सहित ल्याउन भन्छ, तर चितुवाले घरपालुवा जनावर मारेर जंगलमा लैजान्छ । फोटो खिच्ने र प्रमाण जुटाउन गाह्रो हुने भएकोले पनि समस्या हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले घरमा पालेको बंगुर पनि चितुवाले आक्रमण गरेर मारेर लिएर गयो । प्रमाण जुटाउन नसक्दा राहत पाउन सकिन ।’
‘चितुवा गाउँमा आएको देखेपछि डिभिजन वन कार्यालयमा फोन गर्दा सबडिभिजन कार्यालय भन्नु भन्छन् , त्यहाँ फोन गर्दा पनि कुनै वास्ता हुँदैन ।’ उहाँले भन्नुभयो, ‘ यहाँका अधिकांश मान्छेहरू ज्यालामजदुरी गरेर जीवनयापन गर्ने गर्छन् । ज्यालामजदुरी गर्न जाँदा कुन बेला चितुवाले आक्रमण गर्ने हो, थाहा हुँदैन । कम्तिमा चितुवालाई नियन्त्रण गरिदिएको भएको मानिस र घरमा पालेको जनावर सुरक्षित हुने थिए ।’
वन्यजन्तुले आक्रमणबाट मानवीय क्षति, पशुधनको क्षति , भण्डारण गरेको अन्नको क्षति, घर गोठ क्षति , खाद्यान्न बालिको क्षति, माछाको क्षति र कुखुराको क्षति भएमा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० राहत दिने व्यवस्था छ । तर राहत कसरी पाउने भन्ने थाहा नपाउँदा बेलभारका स्थानीयहरू पाउनु पर्ने राहतबाट समेत बन्चित हुनुपरेको छ।


