
होमेन्द्र थापा, गुलरिया । माइती नेपालले दुई सय ८४ जना जोखिमपूर्ण यात्रामा रहेका बालिका तथा महिलालाई परामर्श दिइएको जनाएको छ । माइती नेपालले सन् २०२५ मा दुई सय ८४ जना जोखिमपूर्ण यात्रामा रहेका बालिका तथा महिलालाई परामर्श दिइएको जनाएको ।
मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि माइती नेपालले बढैयाताल गाउँपालिकाको बलईगाउँ नाका, गुलरियाको सुरजपुर नाका र मधुवनको शक्तिपुर नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरी नियमित परामर्श प्रदान गर्नुका साथै पीडितहरूको उद्धार गर्दै आएको छ ।

माइती नेपालले वर्षभरी गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । सन २०२५ मा दुई सय ८४ जना जोखिमपूर्ण यात्रामा रहेका बालिका तथा महिलालाई परामर्श दिइएको छ । सन २०२४ मा जो ३ सय ३५ जना जोखिमपूर्ण यात्रामा रहेका बालिका तथा महिलालाई परामर्श दिइएको माइती नेपालले जनाएको छ ।
बर्दियाको करिब ८३ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको हुँदा यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिम उच्च रहेको बताउँदै माइती नेपाल गुलरिया, बर्दियाकी संयोजक गायत्री रिमालले तथ्याङ्क सार्वजनिक गर्नु भएको हो । उहाँका अनुसार माइती नेपालले लामो समयदेखि बर्दियामा महिला तथा बालबालिका माथि हुने सबै प्रकारका हिंसा विरुद्ध निरन्तर काम गर्दै आइरहेको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले मानव बेचबिखन तथा ओसारपसारका दृष्टिले बर्दिया उच्च जोखिममा रहेको जिल्ला भए पनि माइती नेपालले प्रभावकारी काम गरिरहेको बताउनुभयो । सबै सरोकारवालाको संयुक्त पहल र सहयोग भए मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण तथा रोकथाम सम्भव हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा मानव बेचबिखनको मुख्य कारण पारिवारिक अवस्था रहेको औंल्याउँदै अभिभावकहरूले आफ्ना छोराछोरीको उचित हेरचाह, शिक्षा र संस्कारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइयो । साथै, मानव बेचबिखनका स्वरूप समयसँगै परिवर्तन हुँदै गएकाले यसको प्रभावकारी रोकथामका लागि सरोकारवालाहरूको सामूहिक प्रयास अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो ।


