
कृष्णसार अनलाइन | राष्ट्रिय प्रकृति संरक्षण कोषले सहर माछा संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन बढाउने उद्देश्यले होमस्टे सञ्चालन तथा व्यवस्थापनमा सहयोग गरेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले सहर माछा संरक्षणलाई पर्यटनसँग जोडेर स्थानीय समुदायको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सल्यानमा होमस्टे प्रवर्द्धनमा सहयोग गरिएको बताउनुभयो।

‘करिब डेढ वर्षअघि सहर माछाको संरक्षणसँगै पर्यटन व्यवसायको प्रचारप्रसार गरी होमस्टे व्यवसायलाई थप व्यवस्थित गरेर आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोषले सहयोग गरेको थियो,’ उहाँले भन्नुभयो, ‘अहिले त्यहाँ रहेका होमस्टेहरूले अहिले राम्रोसँग सञ्चालन भइरहेका छन्।’
सल्यानको छत्रेश्वरी गाउँपालिका, ७ मा रहेको म्यांगो होमस्टेका सञ्चालक शकर बुढाथोकीले आफूले करिब छ वर्षदेखि होमस्टे सञ्चालन गर्दै आएको बताउनुभयो। करिब एक वर्षअघि होमस्टेलाई थप व्यवस्थित बनाउन राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले सहयोग गरेको उहाँको भनाइ छ। बुढाथोकीले भन्नुभयो, ‘हामी सहर माछा संरक्षणका लागि काम गर्दै आएका छौँ। सहर माछा संरक्षणमा लागेको कारण राष्ट्रिय प्रकृति संरक्षण कोषले हामीलाई होमस्टे व्यवस्थापनमा सहयोग गरेको हो ।’
सहर माछा संरक्षणसँगै होमस्टेमा आउने पर्यटकलाई नदी तथा आसपासका क्षेत्रमा पाइने जैविक विविधता, स्थानीय कला संस्कृति र प्राकृतिक सौन्दर्यको प्रचारप्रसार हुन हुन जरुरी रहेको छ । लोपोन्मुख प्रजातिको सूचीमा रहेको सहर माछाको अवैध रूपमा शिकार वा मार्नेलाई जलचर संरक्षण ऐन, २०१७ अनुसार कानुनी कारबाही हुने व्यवस्था छ। ऐनअनुसार यस्तो कसुरमा ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।


