
कृष्णसार अनलाइन । राष्ट्रिय प्रकृति संरक्षण कोषले बर्दियाको ठाकुरद्वारामा पत्रकारका लागि वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी मिडिया संलग्नता तथा सचेतनामूलक कार्यशाला गरेको छ।
कार्यशालामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वन्यजन्तु अपराध नियन्त्रण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन, राहत तथा क्षतिपूर्ति व्यवस्थापन र संरक्षणमा सञ्चारमाध्यमको भूमिकाका विषयमा जानकारी गराइएको थियो।

वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रण सम्बन्धी सूचना र समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित भएर संवेदनशील, जिम्मेवार, सन्तुलित र संरक्षणमैत्री दृष्टिकोण अपनाउन राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले आग्रह गर्नुभयो ।
‘गलत समाचारले वन्यजन्तु सम्बन्धी जनमानसमा गलत धारणा सिर्जना हुने भएकाले समाचार लेख्दा तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्छ,’ उहाँले भन्नुभयो , ‘वन्यजन्तु संरक्षणका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ। वन्यजन्तु संरक्षणसँग जोडिएका विषयमा समाचार सम्प्रेषण गर्दा तथ्य र संवेदनशीलतालाई प्राथमिकता दिनुपर्छ।’
वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि, मानव वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन तथा वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी मनोज न्यौपानेले बताउनु भयो मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु संरक्षणका लागि निकुञ्जले आधुनिक प्रविधिको प्रयोग गर्दै संरक्षणका क्षेत्रमा काम गरिरहेको न्यौपानेले जानकारी दिनुभयो ।
कार्यशालामा वन्यजन्तु सम्बन्धी समाचार लेख्दा तथ्यको पुष्टि, स्रोतको विश्वसनीयता, शब्द चयन र समाचारले पार्न सक्ने प्रभावलाई समेत ध्यान दिनुपर्नेमा जोड दिइएको थियो। नेपाल पत्रकार महाशाखा लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारहरूले समाचार लेख्दा नीति निर्माणमा दबाब पुग्ने गरेर पनि समाचारले लेख्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गलत र अधुरो सूचनाको आधारमा समाचार लेख्दा त्यसले समाजमा नकारात्मक असर पर्छ । त्यहीँ भएर समाचार लेख्दा सत्य र पूरा सूचना पाएपछि समाचार लेख्नुपर्छ। समाचार लेख्दा स्रोत कति भरपर्दो हो ख्याल गर्नुपर्छ ।’


